काठमाडौ १५ चैत्र । तत्कालिन प्रधानन्यायाधिश खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाउन जारी बाधा अड्काउ फुकाउ आदेश असंवैधानिक भएको दावी सहित सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुदैछ ।
रिट निवेदन दायर भएको तीन वर्षपछि सर्वोच्च अदालतको छुट्टै संवैधानिक इजलासले त्यसको संवैधानिकताबारे निर्णय सुनाउन लागेको हो । गम्भिर संवैधानिक एवम् कानुनी प्रशन समावेश विवादको निरोपण गर्न नेपालको संविधानमा छुट्टै संवैधानिक इजलास गठनको व्यवस्था छ ।
तत्कालिन प्रधानन्यायाधीश रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाउन जारी गरिएको बाधा अड्काउ आदेश असंवैधानिक र शक्तिपृथकीकरण एवम् शक्ति नियन्त्रण तथा सन्तुलनको सिद्धान्त विपरीत भएको दावीसहित सर्वोच्चमा रिट दायर भएको थियो ।
लामो समयदेखि विचाराधीन उक्त रिट निवेदनको सुनुवाइ माघ २९ गते संवैधानिक इजलासमा सुरु भएको थियो । प्रधानन्यायाधिश कल्याण श्रेष्ठको नेतृत्वमा रहेको संवैधानिक इजलासमा सर्वोच्चका न्यायाधिशहरु शुसिला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्र हुनुहुन्छ ।