इनरुवा, १३ चैत ।
करिब पाँच वर्षअघि विद्युत् विस्तारका लागि खम्बा गाड्ने काम सम्पन्न भए पनि सुनसरी जिल्लाको घुस्की गाविस–७ स्थित रहेको मलाह बस्तीमा अझै बत्ती बलेको छैन ।
सरोकारवाला निकायले ध्यान नदिँदा र सरकारी निकायमा मलाह समुदायको पहँुच नपुगेकाले बत्ती बाल्नबाट वञ्चित हुनुपरेको स्थानीय रामेश्वर मलाहले गुनासो गर्नुभयो ।
आफूहरुले तार जडानका लागि पटकपटक इनरुवास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा अनुरोध गर्दा केही दिनमा तार जडान हुन्छ भन्ने आश्वासन पाएपनि अहिलेसम्म पूरा नभएको स्थानीय अशोक मण्डलले बताउनुभयो ।
यता गाविस सचिव राजकिशोर मेहताले प्राधिकरणमा आफूले समेत ताकेता गर्दा कहिले ‘समय छैन’ त कहिले ‘जनशक्ति अभाव’ भन्दै टारिँदै आएको बताउनुभयो ।
तार जडान नहँुदा मलाह वस्तीका करिब २५ घर अन्धकारमा बस्न बाध्य छन् भने सिँचाइ, सञ्चार जस्ता आधारभूत सेवा उपभोग गर्नबाट पनि वञ्चित भएको सचिव मेहताको भनाइ छ ।