घोराही, चैत्र १३
वर्तमान सरकारका एक प्रभावशाली मन्त्रीले संविधानमा राजा फर्काउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन् । गृहमन्त्री शक्ति बस्नेतले जनताको अभिमत लिएर संविधानका जुनसुकै व्यवस्था पनि परिवर्तन गर्न सकिने बताएका हुन् । उनले संविधानले व्यवस्था गरेका सुविधाहरूको प्रयोग गरेर कार्यान्वयनमा अघि बढ्न आग्रहसमेत गरेका छन् ।
उनले भने, ‘कसैले राजा ल्याउन चाहन्छ, कसैले यो व्यवस्थालाई फालेर समाजवादी गणतन्त्र ल्याउन चाहन्छ वा जनवादी गणतन्त्र ल्याउन चाहन्छ भने त्यो संविधानले नै व्यवस्था गरेको छ ।’ जनताको अभिमत ल्याएर कसैले व्यवस्था परिवर्तन चाहेमा त्यो सुविधा संविधानले दिएको गृहमन्त्रीको भनाई छ ।
उनले संविधानमा अपुग भएका व्यवस्थाहरूबारे बहस गरेर संविधान कार्यान्वयनमा ढिलाई नगर्न पनि आव्हान गरेका छन् । गृहमन्त्री बस्नेतले संविधान संशोधनका लागि पुनः सडकमा आन्दोलन गर्नै नपर्ने अवस्था नयाँ संविधानले सिर्जना गरिदिएको पनि बताए ।
एकीकृत नेकपा माओवादीको संगठन वाईसीएलको जिल्ला सम्मेलनलाई शुक्रबार उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले भने, ‘जनताको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डा बाहेकका सबैजसो धाराहरू, व्यवस्थाहरू परिवर्तनीय छन्, सबैको सम्बोधन विस्तारै हुन्छ ।’