ललितपुर, चैत्त १०
अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको विवाद मिलाउन राजधानी आएका एशियाली फुटबल संघ (एएफसी) का प्रतिनिधिहरूले तत्काल साधारण सभा गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई निर्देशन दिएका छन् ।
एन्फा कम्लेक्स सातदोबाटोमा आज भएको छलफलमा उनीहरूले यस्तो निर्देशन दिएका हुन् । एएफसीका प्रतिनिधिहरूले एन्फाका अधिकारीहरूलाई भेटेर एन्फाको विवाद समाधान गर्न तत्काल साधारण सभा गर्न र आवश्यकताअनुसार विधानमा संशोधन गर्न पनि भनेका हुन् ।
एएफसीका डाइरेक्टर अफ मेम्बर एशोसिएशन एण्ड इन्टरनेशनल रिलेशन सञ्जीवन बालासिंघम र इन्टरनेशनल रिलेशन अफिसर पुरुषोत्तम कट्टेलले एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसहितका कार्य समितिका पदाधिकारीलाई भेटेर यस्तो सुझाब गरेका हुन् ।
एन्फाका अध्यक्ष गणेश थापा प्रतिबन्धमा परेपछि अहिले नरेन्द्र श्रेष्ठले एन्फाको कार्यबाहक अध्यक्षता गरिरहेका छन् । एन्फाका पदाधिकारीहरूले भने निलम्बनमा परेका चार पदाधिकारीहरूले पाटन पुनरावेदन अदालतमा साधारण सभा रोक्न माग गर्दै मुद्दा दायर गरेको हुँदा त्यसको फैसला नभएसम्म केही गर्न नमिल्ने जानकारी गराएका थिए ।
जवाफमा एएफसी प्रतिनिधिले असन्तुष्ट पक्षलाई भेटेर मुद्दा फिर्ता लिन आग्रह गर्ने बताएका थिए । लगातार तीन वटा बैठकमा नआएको भन्दै एन्फाले चार जना पदाधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।