काठमाण्डौं ,१० चैत्र ।
विभिन्न माओवादी पार्टी र संगठनका नेताहरूले माओवादी पार्टी एकता अहिले आवश्यक रहेको तर व्यावहारिक कठिनाई रहेको बताएका छन् ।
संवाद डबलीमा आयोजित कार्यक्रममा एमाओवादीका नेता लोकेन्द्र बिष्टले सबै माअोवादीबीच एकता हुनु आवश्यक रहेको र यसको लागि पहल भईरहेको तर बिचार र व्यावहारिक प्रक्रियाहरू मिलाउनु पर्ने बताउनु भयो ।
क्रान्तिकारी माओवादीका नेता कुलप्रसाद केसीले निकट भविष्यमै माओवादी एकताको सन्दर्भमा छिट्टै सकारात्मक सन्देश आउन सक्ने बताउनु भयो ।
नेकपा माओवादीका एकराज भण्डारीले अहिले जनयुद्धको मुद्धा नेता कार्यकर्ताले व्यक्तिगत ढंगले बोकेर हिड्नु परेको तर नेताहरु सुरक्षा घेरामा हिड्ने गरेको तर्क गर्दै एकताको नारा लाउनुको औचित्य नहुने बताउनु भयो ।
मात्रिका नेतृत्वको नेकपा माओवादीका नेता गोपाल ठाकुरले आफ्नो टाउकोको मुल्य तोक्नेहरुसगै नेताहरु हात मिलाएर हिडेको भन्दै कार्यकर्ताहरुको बिजोग भएकाले एकताको मात्रै कुरा गर्नुको औचित्य नभएको बताउनु भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले माओवादीहरुबीच बिचार र व्यवहार मिलाएर एकता गर्नु पर्नेमा जोड दिनु भयो ।