काठमाडौ ,१० चैत्र ।
रसुवाको सदरमुकाम धुन्चे लगायत उत्तरी क्षेत्रमा आज बिहान चलेको भीषण हावाहुरीले भूकम्प प्रभावितका सयौं टहरा भत्किएछन् ।
बिहान करिब ७ बजेदेखि सुरु भएको हुरीले उत्तरी क्षेत्रका हाकु, धुन्चे, स्याफ्रु, गोल्दुङ, गत्लाङ लगायतका गाविसमा रहेका अस्थायी टहरा उडाएको प्रहरीले जनाएको छ ।
भूकम्पछि पालमा सन्चालन हुदै आएका सरकारी कार्यलयको कागजपत्र समेत हुरीले उडाएको छ । जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यलयको दुई ओटा पाल उडाउदा कागजपत्र यत्रतत्र छरिएका छन् ।
हुरीले अस्थायीरुपमा सञ्चालित विद्यालयमा समेत क्षति पुगेको छ भने सदरमुकामस्थित कैदीबन्दीको आवास गृह हावाले भत्काइदिएको छ । तीव्र रुपमा हावा चल्न नरोकिएपछि सदरमुकामका सबै बजार पसल बन्दा गराएका छन् ।
हावाहुरीका कारण समस्यामा परेकाको उद्दारका लागि नेपाली सेनाको नारायण दल गण धुन्चेको टोली सदरमुकाममा परिचालन गरिएको छ ।
गणपति बिक्रम गुरूङको नेतृत्वमा जोखिमलाई मध्यनजर गर्दै सेना परिचालित भएको हो ।
यसैबीच आचनक चलेको हावाहुरी र हिजो बिहानदेखि फैलिएको डडेलो नियन्त्रण गर्ने विषयमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालिन बैठक बस्दैछ ।