काठमाण्डौ , ९ चैत ।
भिमसेनको लिंग बोक्दा छोरो जन्मिन्छ भन्ने विश्वासका आधारमा भत्तपुरमा भिमसेन लिंग बोक्नेको होडबाजी नै चल्ने गरेको छ ।
यो पटकको होलीका अवसरमा पनि भिमसेन लिंग बोक्नेमा तछाडमछा नै भयो । मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि होली सकिने भएकाले सो क्रममा लिंग बोक्नेको होडबाजी चल्ने गर्छ ।
छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा हुने गरेको हो ।
सो क्रममा ‘भीमसेन देया लज खङ्ग लो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भयोकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई बिदा गरिन्छ ।
भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमका रुपमा एक सातासम्म प्रदर्शनमा राखिएकामा आज त्यसलाई खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रुपमा विसर्जन हुने परम्परा रहेको छ ।
काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याएको थियो ।