बुद्धधर्मको प्रवद्र्धनमा समर्पित गुरुमाँ धम्मावती

बुद्धधर्मको प्रवद्र्धनमा समर्पित गुरुमाँ धम्मावती

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 31.1K
    SHARES

जहानियाँ राणा शासनले अनुमति नदिए पनि धम्मावती गुरुमाँ भागेर बुद्धधर्म अध्ययनका लागि बर्मा जानुभयो । त्यस बेलाको कठिन समयदेखि बुद्धधर्मको अध्ययन, अनुसन्धान तथा उत्थानमा आफ्नो जीवन समर्पण गर्दैै आउनुभएका धर्मकीर्ति विहारका अध्यक्ष उहाँ बुद्ध दर्शन अध्ययन र ज्ञानको खोजीमा अद्यापि जुटिरहनुभएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सम्मानित बौद्ध विदुषी भिक्षुणी धम्मावती बुद्धधर्मको अध्ययन गर्न जङ्गलको बाटो हुँदै थुप्रै दिन लगाएर २००६ सालमा बर्मा पुग्नुभयो ।

गुरुमाँसँग बुद्धधर्मसम्बन्धी शिक्षा दीक्षा ग्रहण गर्नुभएका बर्माका प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले उहाँलाई गुरुका रूपमा आदर गर्नुहुन्छ । सन् १९७० को दशकमा नेपाल रहँदा उहाँले गुरुमाँसँग धर्मकीर्तिविहारमा बारम्बार भेट गर्नुभएको थियो ।

बुद्धधर्मको प्रचारप्रसार तथा शिक्षा आर्जनको सिलसिलामा थुप्रै मुलुकको भ्रमण गरिसक्नुभएका उहाँले अमेरिका, श्रीलङ्का र चीनको तीन÷तीन पटक भ्रमण गरिसक्नुभएको छ ।

उहाँले अहिलेसम्म बुद्धधर्मसम्बन्धी ४० वटा पुस्तक लेखिसक्नुभएको छ भने धर्मकीर्ति विहारबाट मात्रै १०० भन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । उहाँको सङ्घर्षपूर्ण जीवनलाई एक बर्मेली भिक्षुले उपन्यासमा ढालेका छन् जुन नेपाल भाषामा ‘यःम्ह म्ह्याय्’ का रूपमा अनूदित छ ।

विसं १९८९ मा ललितपुरको रुद्रवर्ण महाविहारमा पिता हर्षरत्न शाक्य र आमा हेराथकुँ शाक्यको कोखबाट जन्मनुभएका धम्मावतीले विसं २००६ मा भारतको कुशीनगरमा प्रवज्या लिनुभएको हो ।

रासस प्रतिनिधिसँग कुरा गर्दै नेपालकै ज्येष्ठ भिक्षुणी गुरुमाँले भन्नुभयो – “मानिस–मानिसबीच रहेको स्वार्थपूर्ण व्यवहार तथा भेदभाव समाज परिवर्तनका लागि चुनौतीपूर्ण छ । बौद्घ, हिन्दू, मुस्लिम हरेक धर्मभित्र स्वार्थी प्रवृत्ति छ । जबसम्म मानिसको भित्री हृदयमा टाँसेर बसेको स्वार्थ हटाउन सकिँदैन, तबसम्म मानव जातिको कल्याण हुँदैन ।”

विदेशमा गएर बुद्घधर्मको अध्ययन गर्न जान तत्कालीन राणा शासकले राहदानी उपलब्ध गराउन अस्वीकार गरेपछि जङ्गलै जङ्गलको बाटो हुँदै बर्मा पुगेको कठिन यात्राको स्मरण उहाँ सुनाउनुहुन्छ ।

बर्मास्थित प्रसिद्ध खेमारामा विद्यालयमा बुद्धधर्मसम्बन्धी गहन अध्ययन गर्नुभएका विदूषी गुरुमाँले भन्नुभयो – “सो विद्यालयका प्रमुख प्राचार्य धोपन्याचार्यको सद्विचार तथा ती गुरुबाट प्राप्त बुद्धधर्मसम्बन्धी दीक्षा तथा मार्गदर्शन भुल्न सक्दिनँ ।”

उहाँका अनुसार बुद्धधर्ममा महिला उत्थानका लागि प्रशस्त स्थान छ । यस धर्ममा महिला र पुरुषबीच कतै पनि विभेद छैन । पुरुष र महिलालाई समान व्यवहार हुने भएकाले बुद्घधर्ममा पुरुषसरह महिलालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर हुन्छ । अरू धर्ममा जस्तो यहाँ ठूलो जात र सानो जात भन्ने भेदभाव हुँदैन ।

अर्को रोचक प्रसङ्ग सुनाउँदै गुरुमाँले थप्नुभयो – “राणा शासनकालमा कुनै विदेशी बुद्घधर्मावलम्बी वा भिक्षु नेपाल आउन चाहेमा उसले शिवरात्रिका अवसरमा मात्र पाँच दिन नेपाल बस्ने अनुमति पाउँछ । पाँच दिनपछि उसले नेपाल छोड्नु पर्छ ।”

बर्माबाट नेपाल फर्केपछि उहाँ नःघलको श्रीघ विहारसँगैको धर्मकीर्ति विहारमा बस्नुभयो जुन २०२० सालमा बनाइएको हो ।

भारत, श्रीलङ्का, बर्मा, चीन, ताइवान जस्ता मुलुकमा धर्मकीर्ति विहारबाट बुद्धधर्मको अध्ययनका लागि पठाइएका विद्यार्थीमध्ये अहिलेसम्म तीनजनाले विद्यावारिधि र एकसय भन्दा बढीले स्नातकोत्तर उपाधि हासिल गरिसकेका छन् ।

बुद्धधर्मको सारतत्व बुझ्न हरेक व्यक्तिले एक पटक त्रिपिटकको अध्ययन गर्नैपर्ने सुझाव दिनुहुने उहाँले त्रिपिटकभित्र बुद्धधर्मसम्बन्धी कथाहरू सङ्गृहित सुत्त पिटक, अनुशासनसम्बन्धी व्याख्या गरिएको विनय पिटक र चित्तसम्बन्धी व्याख्या गरिएको अभिधम्म पिटकको अध्ययनबाट मानिसले ठूलो लाभ लिन सक्ने बताउनुहुन्छ ।

अर्बुद रोगबाट मुक्ति पाउनुभएका उहाँ बयासी वर्षको उमेरमा पनि धार्मिक क्रियाकलापमा क्रियाशील हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी