काठमाण्डौं चैत्र ८ । प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट निमन्त्रणापत्र समेत हस्तान्तरण गर्नु भएको छ ।
चीनको साताब्यापी भ्रमणको लागि बेइजिङमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति सि बीच आज साँझ भेटवार्ता भएको हो । उहाँले आज विहान चिनिया समकक्षी लि खछ्याङलाई भेटेर राजनीतिक भेटघाट थाल्नुभएको हो । सो भेटमा प्रधानमन्त्री ओलीले लीसंग १५ मिनेट जति एक्ला एक्लै भेट गर्नुभएको थियो ।
चीन तर्फबाट उच्चस्तरको भ्रमणबारे आफूहरुले अपेक्षा गरेको पनि बताउनुभएको थियो । उहाँले आफ्नो तर्फबाट समकक्षी लिलाई नेपाल भ्रमणको निमन्त्रणा समेत दिनुभएको छ ।
त्यसपछि उहाँले विभिन्न १० बुँदे सम्झौता तथा समझदारीपछि राजनीतिक घेटघाटको क्रममा राष्ट्रपति सीसंग शिष्टाचार भेट भएको हो ।
सो भेटमा ओलीलाई नेपालको पछिल्लो अवस्थाबारे सिले जिज्ञासा राख्नुभएको भ्रमण दलका एक सदस्यले जानकारी दिएका छन् । सिसंगको भेटमा ओलीले नेपालको राजनीतिक अवस्थाबारे र भूकम्पपछिको पुनर्निर्माणको कार्य जानकारी गराउँदै दुईपक्षीय सम्वन्ध र चीनको सहयोग बारेमा छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्रीले संविधान जारी भएपछि नेपाल अव विकासको कार्यमा अघि बढेको भन्दै चीनको सहयोगको लागि समेत आग्रह गर्नुभयो । उहाँले चिनियाँ समकक्षीसंग पनि यही कुरा दोर्होयाउनुभएका थियो । उहाँले उच्चस्तरको भ्रमणबारेमा समेत आग्रह गर्नु भएको थियो ।
चिनियाँ राष्ट्रपतिले पनि नेपाल भ्रमण गर्ने जानकारी दिनुभएको छ । त्यसबारेमा सकारात्मक रहेको भन्दै चिनियाँ विदेश मन्त्रालयले समेत सन् २०१६ को अन्त्य सम्ममा नेपाल तर्फ उच्चस्तरको भ्रमणहरु हुने उल्लेख भएको छ ।
यसअघि , प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ समकक्षी लि खछ्याङबीच पारवहन, स्वतन्त्र व्यापार लगायत विभिन्न १० बुँदे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो ।
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओली र चीनीयाँ समकक्षी लि बीच आज बिहान बेइजिङमा भएको भेटमा पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर भएको हो ।
यस्तै हुम्लाको हिल्सामा सुख्खा बन्दगह बनाउने, पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण दिने तथा चीनीयाँ बैंकको शाखा नेपालमा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको सम्मानमा समकक्षी लिले आजै दिवा भोजको समेत आयोजना गर्नुभएको थियो ।