दूधपाटी(भक्तपुर), ७ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारीले आज बेलायत सरकारको सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामार्फत सञ्चालनमा रहेको आपत्कालीन राहत केन्द्रबाट प्रदान हुँदै आएको सेवाबारे जानकारी लिनुभएको छ ।
गत वैशाखमा आएको भूकम्पपछि पीडितलाई तत्काल राहत उपलब्ध गराउन बेलायत सरकारले रेडक्रस सोसाइटीमार्फत सञ्चालनमा हुने राहत सामग्रीसहितको कन्टेनर उपलब्ध गराएको थियो । उक्त कन्टेनरमा भूकम्पपीडित प्रतिपरिवारलाई रु छ हजार ५०० बराबरका अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको छ ।
सो कन्टेनरमा दुई हजार ५०० परिवारलाई पुग्ने राहत सामग्री बेलायतले उपलब्ध गराएकामा भूकम्पपछि तत्कालै एक हजार २०० परिवारलाई वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो । त्यस्ता कन्टेनर उपत्यकाका चार ठाउँमा सञ्चालित छन् । राहत सामग्रीको गोदामघर निरीक्षणका क्रममा राजकुमार ह्यारीलाई शाखाको तर्फबाट राहत सामग्री पीडितलाई कसरी, कुन प्रक्रियाका आधारमा वितरण भयो, त्यसको प्रभाव कस्तो रह्यो, प्रयोग कसरी भइरहेको छ भन्नेबारेमा जानकारी गराइएको थियो । सो अवसरमा राजकुमार ह्यारीले अलिराम्रो भवन बनाएर अझै व्यवस्थितरुपमा राहतका कार्यक्रम सञ्चालन गर्न÷गराउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई सल्लाह दिनुभयो ।
बेलायत सरकारकै सहयोगमा भक्तपुरमा आगामी तीन वर्षका लागि सुरक्षित समुदाय भूकम्प पूर्वतयारी कार्यक्रम सञ्चालनमा रहेको छ । राहत सामग्री प्राप्त गरेका परिवारसँग पनि भलाकुसारी गरेर उहाँले त्यहाँ करिब २२ मिनेट समय बिताउनुभएको थियो ।