काठमाण्डौ, ४ । चैत्र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलन आगामी नोभेम्बर दोस्रो साता पाकिस्तानमा हुने भएको छ ।
पोखरामा आज सम्पन्न विदेशमन्त्रीहरुको बैठकले सार्क सम्मेलनको मिति तय गरेको हो । सार्कको १९ औं शिखर सम्मेलन नोभेम्बर ९ र १० तारिखमा हुनेछ । ८ तारिखमा विदेशमन्त्रीहरुको बैठक हुनेछ ।
गत मंसिरमा १८ औं सार्क सम्मेलन काठमाडौंमा भएको थियो । अर्को सम्मेलन पाकिस्तानमा गर्ने तय भएपनि मिति भने सार्क देशका विदेशमन्त्रीहरुको बैठकले तय गरेको हो । बैठकले सार्क विपद व्यवस्थापन सम्वन्धी केन्द्रलाई टुक्र्याएर भारत र पाकिस्तानमा राख्ने निर्णय गरेको छ । यसलाई भारत र पाकिस्तान दुबैले आफ्नो देशमा राख्न चाहेका थिए ।
विदेशमन्त्रीहरुको बैठकले विपद व्यवस्थापन भारतमा र वातावरण तथा उर्जा पाकिस्तानमा राख्ने निर्णय गरेको छ ।
यसैविच पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सर्ताज अजिजले भारतीय विदेशमन्त्री सुष्मा स्वराज मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तान भ्रणको लागि निम्ता पठाउनुभएको छ ।
आज दिउँसो पोखरामा भएको दुई देशको संयुक्त पत्रकार सम्मेलनमा सर्ताजले स्वराजलाई पाकिस्तान भ्रमणको निमन्त्रण कार्ड प्रदान गर्नुभएको हो । त्यसैगरी सार्कको ३८ औं मन्त्रीस्तरीय बैठकमा भाग लिनको लागि अजिजले भारतीय विदेशमन्त्री स्वराजलाई पनि निम्ता दिनुभएको छ ।