नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् ।
आज अपरान्न पार्टीकार्यलय सानेपामा नवनिर्वाचित सदस्यहरुले पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई निर्वाचन समितिले विजयी भएको प्रमाणपत्र दिएसंगै सबैले औपचारिक रुपमा आ आफ्नो पदभार सम्हालेका छन् ।
काँग्रेसमा नयाँ नेतृत्वका लागि गत फागुन २३ गते मतदान भएको थियो । सभापति, महामन्त्री र कोषाध्यक्ष सहित ६४ सदस्यका लागि निर्वाचन भएको हो ।
यसैविच कंग्रेसका नव निर्वा्चित सभापति शेरबहादुर देउवाले आज आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेल दोस्रो वरियतामा रहनेगरि उहाँसहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।
पार्टी विद्यान अनुसार सभापति देउवाले पौडेल सहित सभापतिका अर्का उम्मेदवार कृष्ण सिटौला, महामन्त्रीका उम्मेद्वारद्धय अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा पराजित चित्र लेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
यस्तै सभापति देउवाले नरहरी आचार्यलाई पनि सदस्यमा मनोनित गर्नुभएको छ । आचार्य विरामी भएपछि महाधिवेशनमा सहभागी हुन सक्नुभएको थिएन । स्वतन्त्र उम्मेदवार कोशाध्यक्षमा पराजित कृष्ण कार्कीलाई भने देउवाले मनोनित गर्नुभएको छैन ।