काठमाडौँ, १ चैत ।
त्रिविले नेपाली वाङ्मयका क्षेत्रमा लामो साहित्य साधना र योगदान गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे र आयामेली वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई आज मानार्थ महाविद्यावारिधिबाट विशेष सम्मान गरेको छ ।
यसअघि विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका ११ व्यक्तिलाई विशेष सम्मान गरिसकेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरे र राईलाई दीक्षान्त प्रमाणपत्रका साथ मानार्थ महाविद्यावारिधि प्रदान गर्दै देशभित्रका सबै जिम्मेवार राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, पेसागत सङ्गठन, निजी क्षेत्र, स्रष्टा, सञ्चारकर्मी तथा सबै तह र तप्काका जनसमुदायको एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सीप र प्रविधिको विकास र प्राप्तिमा निर्भर हुने बताउनुभयो ।
प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले राष्ट्रको विकासमा ज्ञान, विज्ञान र प्रविधि तथा आचरण र सभ्यता आवश्यक रहने बताउनुभयो ।
त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले स्रष्टाद्वयलाई महाविद्यावारिधिको उपाधिबाट सम्मान गर्न पाउँदा विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक उपलब्धिको उचाइ बढेको बताउनुभयो ।
सन्तानब्बे वर्षीय राष्ट्रकविका कवितातर्फ ‘नवमञ्जरी’, ‘उषाचरित्र’, चैत वैशाख’, गीत रचनातर्फ ‘किन्नर किन्नरी’, बालकवितासङ्ग्रहतर्फ ‘घामपानी’, ‘बालालहरी’, ‘सुनपङ्खी चरी’, बिजुले र बिजुला’, खण्डकाव्यतर्फ ‘धर्तीमाता’, ‘गौरी’, ‘पापिनी आमा’, ‘राजेश्वरी’, ‘बोराको परदा’लगायत आठ, गीतिनाटकतर्फ ‘शकुन्तला’, ‘मालती मङ्गले’, ‘देउकी’लगायत सात कृति प्रकाशित छन् ।
त्यसैगरी उनानब्बे वर्षीय राईका ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको नृत्य’ लगायत विभिन्न विधाका तेह्र कृति प्रकाशित छन् । राईले नेपाल बाहिर भारतमा रहेर पनि नेपाली भाषा र साहित्यको उत्थानमा उल्लेख्य योगदान पु¥याउनुभएको छ ।