काठमाडौँ, २७ फागुन ।
भारतमा सम्पन्न बाह्राँै दक्षिण एसियाली खेलकुद (साग)मा काठमाडौँ जिल्लाबाट सहभागिता जनाएका पदक विजेता खेलाडीलाई आज सम्मान गरिएको छ ।
काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आज आयोजित एक कार्यक्रममा भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न सागमा काठमाडौँका दुई खेलाडीले स्वर्ण, दुई खेलाडीले रजत तथा १३ खेलाडीले कास्यपदक जितेका थिए । पदक विजेता ती खेलाडीलाई युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले नगदसहित सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेमा स्वर्ण पदक विजेता राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान विराज महर्जन र जुडोकी फुपू ल्हामु खत्री छन् । नेपाललाई २३ वर्षपछि स्वर्ण पदक दिलाउने क्रममा महर्जनले फुटबल टोलीका कप्तानको भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी, रजत विजेता तेक्वान्दोका सक्षम कार्की र ट्रायथलनका रोजा केसी छन् । कास्यतर्फ महिला भलिबलकी प्रतिमा माली, कृपा अधिकारी र रेश्मा भण्डारी, महिला कबड्डीकी चन्द्रावती बिष्ट, खोखोका बिक्कीराज महर्जन र पवन महर्जन, आर्चरीका प्रेमप्रसाद पुन, टेबल टेनिसका दीप साउथ, अम्मरलाल मल्ल, नबिता श्रेष्ठ, चन्दन शाही र एलिना महर्जन छन् । उनीहरुको आज सम्मान गरिएको हो ।
स्वर्णपदक विजेता खेलाडीले जनही रु १० हजार प्राप्त गरे भने रजत विजेताले सात हजार तथा कास्य विजेताले रु पाँच हजार प्राप्त गरे । त्यस्तै, राजधानीमा आजदेखि सुरु भएको राष्ट्रपति रनिङ सिल्डअन्तर्गत काठमाडौँ जिल्लाको छनोट प्रतियोगिताको उद्घाटनसमेत खेलकुदमन्त्री मण्डलले गर्नुभयो ।
उक्त छनोट प्रतियोगितामा काठमाडौँका १० निर्वाचन क्षेत्रबाट एकसयभन्दा बढी विद्यालयका करिब आठ सय विद्यार्थी खेलाडीले भाग लिइरहेको आयोजकका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिनुभयो ।
उक्त छनोट प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स, मार्सल आर्टका तेक्वान्दो, उसु र करातेमा गरी ४६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।