चितवन, २४ फागुन ।
चितवनको पटिहानीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा गत वर्षको उपविजेता नेपाल आर्मी क्लब पहिलो चरणबाटै बाहिरिएको छ ।
दोस्रो दिनको पहिलो खेलमा भारतसँग ३–१ ले पराजित हुँदै आर्मी समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा एपिएफसँग ३–१ ले हारेको आर्मीले दोस्रो खेलमा पनि आफूलाई सुधार्न सकेन । भारतको बिएमडब्लु क्लबलाई पहिलो सेटमा २५–२० ले पछि पारे पनि त्यसपछिका तीनै सेट गुमाएपछि आर्मी पहिलो चरणबाटै बाहिरिएको हो ।
आज भारतले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ को सेटमा विजय हात पा¥यो । समूह ‘बी’ मा रहेको भारतले आजै एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेल बाँकी भए पनि एपिएफ र बिएमडब्लु दुबै दोस्रो चरण प्रवेश गरिसकेका छन् । त्यसकारण अन्तिम खेल समूह विजेताको टुङ्गो लगाउन महत्वपूर्ण छ । समूह ‘ए’को खेलमा अहिले साम्ची स्पोर्टस क्लब भुटान र डब्लुडिबी बङ्गलादेशले प्रतिस्पर्धा गरिरहेका छन् ।
बङ्गलादेश आइतबारको खेलमा पराजित भएको थियो भने भुटान पहिलो खेल खेल्दैछ । आजै भुटान र नेपाल प्रहरीले पनि खेल्नेछन् । नेपाल प्रहरी पनि एक खेल जितिसकेको टोली हो ।