काठमाडौं, फागुन २४ ।
नेपाली सेनाले आज सैनिक मंच टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि सेना दिवस मनाएको छ ।
समारोहमा नेपाली सेनाका परमाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा सरकारका उच्च पदस्थ ब्यत्तित्व,सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख लगायतको सहभागीता थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले वीर स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नु भएको थियो । साथै नेपाली सेनाद्वारा सलामी अर्पण समेत गरिएको थियो ।
दिवशका अवसर नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्रि फल जम्प’का विजयीलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।
फ्रि फल जम्पमा हुद्धा रामबहादुर बस्नेत प्रथम हुनुभयो भने द्वितीय पुरस्कार सहसेनानी टेकबहादुर कार्कीले प्राप्त गर्नुभयो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि आरम्भ गर्नुका साथै बढाइँ कवाजले ॐ आकार, नेपाली राष्ट्रिय झण्डाको आकृति प्रस्तुत गरेको थियो ।
मार्चपास, सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो ।सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएकामा त्यसअन्तर्गत ‘सुट टु किल’, तेक्वान्दो, महिला सैनिकबाट पिटी र खुकुरी ड्रिल प्रस्तुत भयो ।
नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।
उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो ।समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
- महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा टुडीखेलमा सेनाद्धारा विभिन्न परेड कला कौशल प्रर्दशन गर्दै ।
- महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा टुडीखेलमा सेनाको हेलीकप्टरद्धारा राष्ट्रिय झण्डा फहराउदै ।
- महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा टुडीखेलमा सेनाद्धारा विभिन्न झाकी तथा सास्कृतिक नृत्य प्रर्दशन गर्दै ।
यसअघि समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणअन्तर्गत प्रथम हुने वराहदल गुल्म नाम्चे र श्रीजग गण कसरालाई ट्रफी प्रदान गर्नुभयो ।
- महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा टुडीखेलमा सेनाको सलामी ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
- महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा टुडीखेलमा सेनाको कार्यक्रम अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत ।










