रसुवाको भोटेकोसी बाढीबाट क्षतिग्रस्त बनेको २२औँ दिनमा चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहभित्रबाट चारवटा शव र एउटा मानव अङ्ग फेला परेको छ। गोताखोरसहितको नेपाली सेना र संयुक्त उद्धार टोलीले बिहीबार सुरुङको अन्तिम किनारासम्म खोजी गर्ने क्रममा उक्त शवहरू फेला पारेको हो।
उद्धार टोली बुधबार विद्युतगृहभित्र प्रवेश गर्न सफल भएको थियो। बाढीले पहुँच सडक, सुरुङभित्र हिलो, लेदो र ठुला ढुङ्गा थुपारेकाले स्याफ्रुबेँसीदेखि नयाँ पहुँच सडक निर्माण गरी मेसिनरी उपकरण पुर्याउन समय लागेको थियो। फेला पारिएका शव र मानव अङ्गलाई हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
बाढीपछि चिलिमे आयोजनाका ५ जना कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका १ जना गरी ६ जना सम्पर्कविहीन भएका थिए। यसअघि भदौ १५ गते पनि आयोजनाको सुरुङबाट एक जनाको शव र मानव अङ्ग निकालिएको थियो। चिलिमे जलविद्युत् कम्पनीका सचिव नारायणप्रसाद आचार्यका अनुसार फेला परेका शवहरूको पहिचानका लागि आफन्तहरूलाई त्रिशूली बोलाइएको र पहिचान प्रक्रिया बिहीबार नै अघि बढाइनेछ।