काठमाडौँ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या एक हजार ४०३ पुगेको छ भने ६ हजारभन्दा बढी मानिसहरू अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझसम्म देशका विभिन्न जिल्लाबाट १,४०३ जनाको शव बरामद गरिएको छ।
प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको छ। यसैगरी नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको छ भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। फेला परेका शवहरूमध्ये हालसम्म १०४ जनाको मात्र पहिचान खुलेको र उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ।
बाढीका कारण बेपत्ता हुनेको कुल संख्या ६ हजार १५० पुगेको छ। जसमध्ये रसुवाबाट १,६७७ स्थानीय र १,८३६ अन्य जिल्लाका नागरिक गरी सर्वाधिक ३,५१३ जना हराइरहेका छन्। त्यस्तै नुवाकोटबाट ७९६ स्थानीय र १,३१० अन्य जिल्लाका व्यक्ति बेपत्ता छन्। नेपाल भ्रमणमा आएका ६३६ जना विदेशी नागरिकसमेत यस बाढीमा परी बेपत्ता भएको प्राधिकरणले जनाएको छ।