रामचन्द्र पौडेलको राजनीतिक जीवन यात्रा यस्तो छ

रामचन्द्र पौडेलको राजनीतिक जीवन यात्रा यस्तो छ

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 28.3K
    SHARES

 नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलको जन्म २००१ साल असोजमा तनहुँ जिल्लाको रिस्ती गाविसमा भएको थियो ।

त्रिविबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गर्नुभएका पौडेलका समसामयिक राजनीतिसम्बन्धी पुस्तक प्रकाशन भएका छन् । उहाँका ‘प्रजातान्त्रिक समाजवाद ः एक अध्ययन’ २०४६, ‘नेपाली काँग्रेस के भन्छ ?’ २०४८ र ‘नयाँ सन्दर्भमा समाजवाद’ २०५२ कृति लगायत समकालीन राजनीति र मानवअधिकारसँग सम्बद्ध विभिन्न लेख प्रकाशित छन् ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरिएपछि १६ वर्षको उमेरदेखि पौडेल प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गर्नुभएको हो ।

नेपाली काँग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा पौडेल सहभागी हुनुभएको थियो । विसं २०१९ को स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका रुपमा उहाँले भूमिका निर्वाह गर्नुभयो । विसं २०२३ मा सरस्वती कलेज विद्यार्थी युनियनको सभापति निर्वाचित हुनुभएका पौडेलले सोही वर्ष संस्थापक सभापति भई गण्डकी विद्यार्थी समितिको स्थापनामा नेतृत्व लिनुभएको थियो ।

विसं २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव हुनुभएका पौडेलले २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापनामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । नेपाली काँग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा २०३४ सालमा निर्वाचित हुनुभएका पौडेल २०३६ सालमा जिल्ला उपसभापति र जनमतसङ्ग्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भएर बहुदलका पक्षमा जनमत निर्माणमा योगदान पु¥याउनुयो । २०४० सालमा काँग्रेस केन्द्रीय प्रचार समितिको संयोजक र २०४४ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो ।

पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष सङ्घर्ष गरी २०४६ सालमा प्रजातन्त्र स्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट संसद् सदस्यमा निर्वाचित हुनुभएको थियो । संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हाल्नुभएका नेता पौडेलले २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारीसमेत लिनुभयो ।

विसं २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट संसद् सदस्यमा निर्वाचित भएपछि उहाँले पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गर्नुभयो । विसं २०५६ को संसदीय निर्वाचनमा पुनः तनहुँ क्षेत्र नं २ बाट सांसद बन्नुभएका नेता पौडेलले २०५७ सालमा उपप्रधानमन्त्री, गृह एवम् सञ्चारमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो ।

विसं २०६२ मा काँग्रेसको महामन्त्री हुनुभएका नेता पौडेलले २०६३ सालमा पुनःस्थासपत संसद्को सदस्य भई तत्कालीन नेकपा (माओवादी)लाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान पु¥याउनाका साथै शान्ति सचिवालयको संयोजकको भूमिका निर्वाह गर्नुभयो ।

माओवादी समेत संलग्न भई २०६३ सालमा गठन भएको सरकारमा नवगठित शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि नेता पौडेलले नै सम्हाल्नुभयो । विसं २०६४ मा काँग्रेस उपसभापति हुनुभएका नेता पौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाटै चौथो पटक सभासद्मा निर्वाचित हुनुभयो । विसं २०६५ मा काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएका पौडेल २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ २ नं क्षेत्रबाटै पाँचौँ पटक सभासद्मा निर्वाचित हुनुभयो ।

निरङ्कुश राजतन्त्रविरुद्ध लड्ने क्रममा २०१९ देखि २०४६ सालसम्म पटक पटक गरी १३ वर्ष राजनीतिक बन्दीका रुपमा कारागार बस्नुभयो । स्वतन्त्रता र प्रजातन्त्रबाट मात्रै जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक मान्यता राख्ने कावा सभापति पौडेल जनएकता भए मात्र समृद्ध मुलुक निर्माण गर्न सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ । न्यूनतम आधारभूत आवश्यकताका सामग्रीबाट वञ्चित तथा गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने पनि उहाँको मान्यता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी