धरान, २२ फागुन।
अठारौं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ । धरान फुटबल क्लवको आयोजनामा भएको यो प्रतियोगिताकोे फाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मनाङ्गले उपाधि जितेको हो ।
मनाङलाई यो सिजनको तेस्रो उपाधि जिताउन अफ्रिकन खेलाडी अफिजले गोल गरे । डिफेन्डिङ च्याम्पियनसमेत रहेको मनाङले तेश्रो पल्ट बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । उसले २०६८ सालमा पनि उपाधि जितेको थियो ।
जितसँगै मनाङ्गले ४ लाख रुपैया पुरस्कार पायो भने पुलिसले २ लाख रुपैयाँमा चित्त बुझायो । पुलिसको चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जित्ने चाहना भने हारसँगै चकनाचुर भयो । पुलिसले २०५८, २०६० र २०६६ मा यो उपाधि जितेको थियो ।
मनाङले यसअघि पोखरामा भएको आहा–रारा गोल्डकप र मकवानपुरमा भएको हेटौंडा गोल्डकप जितेको थियो । मनाङका किरण चेम्जोङ उत्कृष्ट खेलाडी घोषित भए ।