ताप्लेजुङ, ८ फागुन ।
ताप्लेजुङको देभान पुलको २०६५/०६६ मा ठेक्का आब्हानपछि सम्झौता भए अनुसार २०७२ साल असोज महिनामा सकाउनुपर्ने थियो तर पुल सकाउनुपर्ने जिम्मा पाएका कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्शन प्रा.लि.ले विभिन्न बाहानामा पुल बेबारिसे अवस्थामा पु¥याउँदा पनि सडक विभाग र सम्बन्धित निकाय बेखबर भएको छ ।
पुल बनाउन शुरुवात गरिएता पनि विगत लामो समयदेखि पुल निर्माण कार्य ठप्प भएको छ । निर्माण गर्नको लागि चाहिने केहि सामाग्री तमोरले बगाएको छ भने पुल निर्माणमा चाहिने सामानहरू लथालिंग अवस्थामा छन् ।
निर्माणको लागि ठेक्का पाएको कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्शन प्रा.लि.का अनुसार पुल निर्माणको लागि चाहिने हुलास कंपनीले सामान उत्पादनमा उदासिनता देखाएको र विगत ६ महिनादेखि नेपालमा भारतले लगाएको नाकाबन्दीका कारण हुलासले कच्चा पदार्थको अभावका कारण सामान उत्पादन गर्न नसकेको कारण समयमा नै पुल निर्माण कार्य सम्पन्न हुन नसकेको जिकिर गरेको छ ।
पुलको आधार वा वेस मात्र बनाएर काम लाथालिंग अवस्थामा छोडिएको छ । पुलको बेसमा झारपातले बेस नै जीर्ण अवस्थामा पु¥याएको छ भने पुलमा चाहिने अपुग सामानहरू बाटोमा अव्यवस्थित तरिकाले जथाभाबी छरपस्ट राखिएको छ ति सामानहरू पनि खिया लाग्ने अवस्थामा पुगेको छ, यस प्रति न सरोकारवाला निकायले ध्यान दिएको छ, न त निर्माण कंपनीले नै सामानको रेखदेख र व्यवस्थापन गरेको छ ।
दोभान पुल निर्माण कार्य समापन हुन नसक्दा निघुरादिन, फुलबारी, हाङपाङ, चाँगे, ढुंगेसाँघु, साँघु, फाकुम्बा, थिङलाबु, सान्थाक्रा, खोक्लिङ, लिबाङ, साँबा, खाम्लुङ, लिङ्तेप, थूकिमा, नाल्बु, पापुङ, सावादिन, खेजेनिम, इखाबु, लेलेप र ओलाङ्चुङ गोला लगायतका गाविसहरू प्रभावित बन्ने छन् । अर्को पुल दोभानसँगै जोडिएको मैवाखोला पुलको निर्माण कार्य पनि पूर्ण रुपले प्रभावित बन्ने देखिन्छ ।
काम सकाउन पटक पटक ताकेता गर्दा पनि ठेकेदार कंपनीले विविध बाहानामा पुलको निर्माण कार्य सम्पन्न हुन नसकेको उत्तर दक्षिण ताप्लेजुङ गोला लोकमार्ग योजनाका सहायक इन्जीनियर दानकुमार शाक्यले बताए ।
उता मैवा खोला पुल निर्माणको अवस्था पनि दोभान पुलकोभन्दा फरक छैन । २०७३ साल जेष्ठ महिनामा सकाउनुपर्ने मैवाखोलाको पुलको सम्झौता याक्थुङहाङ, शेवालुङ र थेबे कन्स्ट्रक्शन प्रालिले २०६७÷०६८ मा गरेको हो ।
यो पुल पनि समयमा नसकिने पक्का भएको छ । यता नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, उत्तर दक्षिण ताप्लेजुङ गोला लोकमार्ग योजनाका सहायक इन्जीनियर शाक्यले दोभानको पुल सम्पन्न नभएसम्म मैवाखोला पुल निर्माण प्राविधिक कारण संभावना नभएको बताए ।
शाक्यका अनुसार अहिलेसम्मे दोभान पुल निर्माण सम्पन्न गर्नको लागि म्याद थपको लागि निर्माण कंपनीले आवेदन दिए पनि सडक विभागले म्याद थप नगरेको बताए । म्याद थप नभएको अवस्थामा प्रतिदिन ५५ हजार रुपैयाँ जरिवाना सहित पुलको निर्माण कार्य सकाउनु पर्ने निर्माण कंपनीको दायित्व हुने, नियम रहेको बताए ।
यदि आधुनिक उपकरण क्रेन ल्याएर पुल जोड्न सकियो भने लक्षित समयभन्दा १ महिना अगाबै काम सकिने अन्यथा द्रुतगतिमा काम अगाडि बढाईए पनि २ महिनाभन्दा अगाबै सकिने अवस्था नरहेको शाक्यको भनाई छ ।
दोभान पुल निर्माण कार्य सुस्त रहेको अवस्थामा २०७२ साल चैत्र महिना भरीमा सकाउने ठेकेदार कंपनीले जिकिर गरेको त छ, तर प्राविधिक र कामको सुस्ततालाई हेर्ने हो भने अझै पनि चैत्र महिनामा सकाउने कुरामा विश्वास गर्न सकिदैन ।
समयमा नै काम सम्पन्न गर्न नसक्ने ठेकेदार कंपनीलाई सडक विभागले कार्वाही वा जरिवानासँगै निर्माण गर्न लागाउँछ या म्याद थप गरेर फेरी ढिलासुस्तीमा विभाग आफैले बल पु¥यउँछ हेर्न बाँकी छ ।


