काठमाण्डौ,५ फागुन ।
१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भारतलाई हराउँदै स्वर्ण पदक जित्न सफल फुटबल टोलीलाई भब्य स्वागत गरीएको छ । त्रिभुवन बिमानस्थलमा टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका हुन । भारतको गुहावाटीबाट जहाजमा बागडुग्रा विमानस्थल ओर्लेको फुटबल टोली त्यहाँबाट स्थलमार्ग हुँदै भद्रपुरसम्म आएको थियो ।
झापाको भद्रपुर विमानस्थलबाट जहाजमार्फत टोली काठमाण्डौ आएको हो। टोली भद्रपुर विमानस्थलबाट दिउँसो ३ बजे काठमाडौं आइपुग्ने भनिएपनि जहाजको उडान तालिका केही पछि सरेकाले साँझ ५ बजेमात्र टिम काठमाडौं आइपुगेको हो ।
त्रिभुवन विमानस्थल ओर्लेको नेपाली फुटबल टोलीलाई नगर परिक्रममा गराउन यो पटक नेपाली सेनाले दुईवटा गाडीको व्यवस्था गरेको छ ।
खेलाडीहरुलाई स्वागत गर्न विमानस्थलको गेटदेखि आन्तरिक टर्मिनलसम्ममा समर्थकको भींड लागेको थयो। काठमाडौं आइपुगेपछि खेलाडीलाई बाजागाजासहित अहिले नगर परिक्रमा गराइँदै छ ।
खेलाडीलाई त्रिभुवन विमानस्थलदेखि गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र्पुयाएर सम्मान गरीने एन्फाले जनाएको छ ।
विमानस्थलमा ओर्लेपछि नेपाली टोलीका कप्तान विराज महर्जनले नेपाली जनतालाई खुसी बनाउन सकेकोमा आफूले गौरव महसुस गरेको बताएका छन । उनले पुराना कुरा भुलेर नयाँ ढंगले अघि बढ्न पनि आग्रह गरेका छन ।
त्यसअघि २३ वर्षपछि च्याम्पियन वनेको नेपाली फुटवल टोलीलाई झापामा आज भव्य स्वागत गरिएको छ ।खेलाडीले नेपाली भूमि टेक्ने वित्तिकै झापालीको न्यानो स्वागत पाएका छन् ्। फुटवल टोलीलाई भव्य स्वागतसहित नगर परिक्रमा गरिएको छ ।
गुवाहिटीवाट जहाजमा वागडोग्रा र त्यहाँवाट सोझै दिउँसो साढे १ वजे फुटवल टोली पूर्वी नाकावाट नेपाल प्रवेश गरेका थिए । उनीहरुको स्वागतमा विहानैदेखि स्कुले विद्यार्थी, फुटवल क्लव, स्थानीय संघ संस्था र सर्वसाधारणका वाक्लो भीड लागेको थियो ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, एसएसपी केदार रिजाल, एसपी ठाकुर ज्ञवाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले खेलाडीहरुलाई मेची पुलको मुखमै स्वागत गरेका थिए । खेलकुद मन्त्री मण्डल पनि आजै गुवाहिटीबाट नेपाल आएका हुन् । उनी खेलाडीलाई स्वागत जनाउन आधा घण्टा छिटो गरि पूर्वी नाकाको स्वागत स्थल पुग्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा मेची भन्सार कार्यालय परिसरमा आयोजित कार्यक्रममा सम्पूर्ण खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई खेलकुद विकास समितिले सम्पूर्ण झापालीको तर्फवाट मायाको चिनो प्रदान गरेको थियो ।
खेलाडीहरुलाई काँकडभिट्टामा स्वागत तथा सम्मानसहित नगर परिक्रमा गराइएको थियो । धुलावारी, चारआली, विर्तामोडलगायतका स्थानमा सर्वसाधारणले स्वतस्फूर्त स्वागत जनाउदै देशको नाम चम्काएकोमा वधाई दिएका थिए ।