काठमाडौ ५ फागुन ।
भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद साग अन्तरगत फुटबलमा स्वर्ण जितेको नेपाली टोली आज स्वदेश फर्किदैछ ।
घरेलु उडानबाट अपरान्न ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीको भव्य स्वगत गर्ने तयारी भएको छ । काठमाडौं आइपुगेपछि खेलाडीहरुलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।
यसअघि उपाधि जितेर आउने खेलाडीहरुलाई बालुवा बोक्ने ट्रिपरमा राखेर नगर परिक्रमा गराइदै आएकोमा यो पटक सेनाले ५ ओटा गाडी एन्फालाई उपलब्ध गराएको हो । सेनाले खेलाडीको स्वगतका लागि ब्यान्डको टुकुडी समेत उपलब्ध गराउदैछ ।
तिलगंगाबाट सुरु हुने नगरपरिक्रमा गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा नागस्थान र त्रिपुरेश्वरमा पुगेर टुङ्गिनेछ ।
सुन्धारा हुँदै दशरथ रंगशाला पुगेपछि त्यहाँ खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।