गुवाहाटी , २६ माघ । भारतको गुवाहाटीमा जारी बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को पाचौँ दिन आज महिला भलिबलमा नेपालले कास्य पदक जितेको छ । गुवाहाटीको इन्दिरा गान्धी स्टेडिएममा भएको भलिबल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर कास्य पदक हात पारेको हो । माल्दिभ्सविरुद्ध नेपाली महिला टोलीले २५–२०, २५–१३, २५–१४ को नतिजा निकालेको थियो ।
सागमा नेपाली भलिबल टोलीले कास्य पदक जितेको यो दोस्रो पटक हो । नेपालले कोलम्बोमा सन् २००६ मा सम्पन्न १० औँ संस्करणमा कास्य पदक जितेको थियो । पुरुष भलिबलमा भने नेपाल यसअघि नै बाहिरिइसकेको छ । यो कास्य पदकसँगै नेपालको पदक सङ्ख्या १७ पुगेको छ ।
नेपाललाई आज थप तीन पदक
यसैबीच, भारतको सिलोङमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को पाचौँ दिन आज नेपालले तीन पदक प्राप्त गरेको छ । नेपालले उसुमा एक रजत तथा भारत्तोलन र टेबलटेनिसमा एक÷एक कास्य जितेको हो ।
आज भएको उसुतर्फको कुन्चुमा नेपालका विश्व बुढामगरले रजत पदक जितेका छन् । आज भएको फाइनलमा उनी भारतीय खेलाडी चिराग शर्माभन्दा ०.३० अङ्क पछि परेपछि रजतमा चित्त बुझाउनुपरेको हो । मगरले ९.०१ अङ्क प्राप्त गरे भने स्वर्ण जितेका भारतका चिरागले ९.३१ अङ्क प्राप्त गरे ।
त्यस्तै, भारोत्तोलन प्रतिष्पर्धामा नेपालकी तारादेवी पुनले कास्य पदक जितेकी छन् । स्न्याचतर्फ ७० केजी र क्लिन एन्ड जर्कतर्फ ९५ केजीसहित कुल १६५ केजी उचाल्दै उनले कास्य जितेकी हुन् । सो स्पर्धामा भारतले स्वर्ण जितेको छ ।
यस्तै, टेबलटेनिस प्रतिष्पर्धामा नेपालले कास्य पदक प्राप्त गरेको छ । महिलातर्फको टिम इभेन्टमा भारतसँग भएको प्रतिष्पर्धामा नेपाल ३–० को सेटमा पराजित भएपनि कास्य प्राप्त गरेको हो ।