काठमाडौं, २३ माघ ।
यु–१९ विश्वकप क्रिकेट अन्र्तगत पाँचौ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले नामिबियासँग खेल्ने पक्का भएको छ ।
नामिबिया शनिबार भएको सेमिफाइनलमा भारतसँग पराजित भएपछि पाँचौ स्थानको प्लेअफ सेमिफाइनलमा आउँदो मंगलबार नेपालसँग खेल्ने पक्का भएको हो ।
आइसिसीको पछिल्लो नियमअनुसार एशोसिएट राष्ट्रबाट शीर्ष स्थानमा रहने टिम सन् २०१८ मा न्युजिल्याण्डमा हुने १९ वर्षमुनिको विश्वकपमा स्वत छनौट हुनेछ । यो खेलमा नेपालले नामिबियालाई हराउन सके २०१८ मा हुुने १९ वर्षमुनिको विश्वकपका लागि नेपाल छनौट हुनेछ ।
शनिबार भएको खेलमा भारतले नामिबियालाई १ सय ९७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भारतले ३ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
भारतका लागि रिशभ पन्तले ९६ बलमा १ सय ११ रन, सर्फराज खानले ७६ बलमा ७६ रन, अर्मान जाफ्रीले ५५ बलमा ६४ रन, अनमोल प्रित सिंहले ४१ र महिपाल लुम्रोले अविजिल ४१ रन बनाए । नामिबियाका फ्रिट्ज कोतजीले तीन विकेट लिए ।
३ सय ५० रनको लक्ष्य पछ्याएको नामिबिया ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रनमा समेटियो । नामिबियाका लागि निको डबिनले ३३, जेन ग्रिनले २७, जर्जेन लिन्डेले २५ रन बनाए ।
भारतका मयंक डागर र अनमोलप्रित सिंहले ३र३ साथै वासिंगटन सुन्दरले २ विकेट लिए ।