जाजरकोट, २२ माघ ।
रोजगारीको खोजीमा युवा विदेश गइरहेका बेला जिल्लाको भेरीमालिका नगरपालिका– १ रिम्नाका रामबहादुर पुनले गाउँमै बङ्गुरपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
धेरै पटक रोजगारीका लागि भारतको कालापहाड गएका पुनले त्यहाँको कमाइले घरखर्च चलाउन धौधौ भएपछि बङ्गुरपालन व्यवसाय थालेका हुन् । थोरै लगानी गरेर धेरै आम्दानी हुने देखेपछि उहाँले बङ्गुरपालन व्यवसाय थाल्नुभएको हो ।
तीन वर्षअघि रु पाँच हजारमा रुकुमको चौरझारीबाट दुईवटा बङ्गुरका पाठा किनेर व्यवसाय सुरु गर्नुभएका पुनसित अहिले १६ वटा माउ बङ्गुर रहेका छन् ।
बजार क्षेत्रमा बङ्गुरको मासु खपत अत्यधिक हुने गरेको छ । एउटा बङ्गुर आठदेखि १० महिना पाल्दा रु २५ हजारदेखि रु ३० हजारमा बिक्री हुने गर्छ । स्थानीय बजारमा बङ्गुरको मासुप्रति किलो रु २५० मा बिक्री हुने गरेको छ ।
“वर्षमा ६० वटाभन्दा बढी बङ्गुरका पाठापाठी बिक्री गर्दै आएको छु” उहाँले भन्नुभयो । तीनवर्षको अवधिमा बङ्गुरपालन व्यवसायबाट रु १८ लाख आम्दानी लिइसकेको पुनको भनाइ छ ।