काठमाण्डौ,२२ माघ ।
बंगादेशमा जारी आइसीसी अन्डर १९ बिश्बकप क्रिकेटमा नेपालले घरेलु टोली बंगलादेशसामु २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मिरपुरको शेर बंगला नेस्नल स्टेडियममा टस जितेर व्याटिङ्ग गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको हो ।
सुरुवाती व्याट्सम्यानलाई गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई कप्तान राजु रिजाल र आरिफ शेखले केही उकासेका छन । दुवै मिलेर चौथो विकेटकालागि ५१ रनको साझेदारी गरे । नेपालका लागि कप्तान रिजालले सर्बाधिक ७२ रन जोडेका थिए । ८० बल खेलेर रिजालले ८ चौका र १ छक्का प्रहार गरे ।
नेपालका लागि ओपनर सुनिल धमलाले २५ रन बनाए । ६५ रनमा चार विकेट गुमाएको नेपालको पारी सुनिल र कप्तान रिजालले संहालेका थिए । उनीहरुले पाँचौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाल सम्मानित योगफलतर्फ उन्मुख भएको थियो ।
नेपालका लागि उपकप्तान आरिफ शेखले २१, दिपेन्द्र ऐरीले २२ रन , प्रेम तामाङ २२ र कुशल भुर्तेलले १४ रन बनाए । ओपनर सन्दिप सुनार ७ र योगेन्द्रसिंह कार्की १ रनमै आउट भएका थिए । समुह चरणमा अपराजित रहदै बंगलादेश समुह विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो । अहिले बंगलादेशले जवाफी ब्याट्रिङ गरीरहेको छ ।
नेपालले भने समूह डि को उपविजेता बन्दै वंगलादेशसंगको भेट पक्का गरेको हो । डिफेन्डिङ च्याम्पियन दक्षिण अफ्रिकालाई समुह चरणमा ४३ रनले पराजित गरेको बंगलादेशले अन्य दुई एसोसिएट टिम स्कटल्याण्डलाई १ सय १४ र नामिवियालाई ८ विकेटले पराजित गरेको थियो ।
समुह चरणको प्रभावशाली प्रदर्शनले बंगलादेशलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । समुह चरणमा नेपालले टेष्ट मान्यता प्राप्त न्युजिल्याण्डलाई ३२ रनले स्तब्ध बनाएको थियो भने आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो ।