काठमाण्डौ ,१८ माघ ।
पछिल्लो समय बृद्धि हुदै गएका अनलाईन मिडियालाई व्यवस्थित गर्न सोहि क्षेत्रमा आबद्ध भएकाहरुसँगको परामर्शबाट छुट्टै आचारसहिता निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार संघद्धारा राजधानीमा आयोजित कार्यक्रममा सहभागीहरुले अनलाईन सन्चालक आफैले तयार गरेको आचारसंहितलाई काउन्सिलले परिमार्जन गरेर कार्यान्वयनमा ल्याए बढी प्रभावकारी हुने सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रशासकीय अदालतका प्रमुख तथा कानुनविद् काशीराज दाहालले संविधान, कानुन भन्दा माथि न्याय हुने र न्याय भन्दा अझमाथि नैतिकता हुने भएकोले संविधानमा व्यवस्था नभएका मुद्धाहरुको फैसला नैतिकताका आधारमा गर्न सकिने बताउनु भयो । उहाले बिभिन्न मुद्धाहरुमा नैतिकतालाई आधार मानेर फैसला गरेको उदाहरण पनि प्रस्तुत गर्नुभएको थियो । अहिले नेपाली समाजमा सार्वजनिक नैतिकता धेरै खस्केको भन्दै दाहालले क्षेत्रगत आचारसंहिता वनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले कानुनको अभावमा व्यवस्थित र प्रभावकारी नियमन नभएपनि केही कार्यविधि वनाएर सूचिकरण गर्न थालिएको वताउनुभयो । अनलाइन पत्रकारिता सुरुवाती चरणमा रहेकोले धेरै कमी कमजोरी र अव्यवस्थित भएको, सन्तुलित विकास हुन नसकेको उहाँको धारणा थियो —“नेपालको सन्दर्भमा काउन्सिलवाट जारी पत्रकार आचारसंहिता कानुनी दस्तावेजको रुपमा रहेको सवैले बुझ्न जरुरी छ । ”
सो अवसरमा उप—प्राध्यापक ऋषिकेष दाहालले प्रस्तुत गर्नुभएको कार्यपत्र “अनलाइन पत्रकारिता र आचारसंहिता”माथि सहभागीहरुले टिप्पडि गरेका थिए ।नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले अनलाइन पत्रकारिता मूलधारको प्रभावशाली पत्रकारिता माध्यम भएको वताउँदै कपी पेस्टले हैरानी पारेको र यसको लागि पत्रकार आचारसंहिताको पुनरावलोकन जरुरी भएको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार प्रतिक प्रधानले मिडियामा कपीपेस्ट गर्ने विषय र अश्लिल एवम् विभत्सको विषयमा स्पस्ट मापदण्ड हुनुपर्ने र अनलाइनलाई छुट्टै पत्रकारिताको रुपमा नलिई पत्रकार आचारसंहिताकै जगमा चल्नुपर्ने वताउनुभएको थियो ।
अनलाइन पत्रकार संघका अध्यक्ष प्रवेश सुवेदीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभयो भने काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण वोहराले अनलाइन माध्यमहरुको अहिलेको अवस्थावारे समीक्षा गर्नुभयो ।

