काठमाडौं, माघ १७ ।
यु–१९ विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले भोली लिग चरणको अन्तिम खेलमा भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले भोली विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।
त्यस्तै प्रतियोगितामा नेपाल र भारत दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै क्वाटर फाइनलको यात्रा तय गरेका हुन् । अब दुवै टोलीले समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘समूह डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।
नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्डविरुद्धको खेलमा आठ विकेटको जित हासिल गरेको थियो ।