काठमाडौं, ११ माघ ।
एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा प्रतियोगिताको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
गए राति भएको खेलमा १० खेलाडीमा सीमित सेभिल्लासँग गोल रहित बराबरी खेलेपछि मड्रिडले शीर्ष स्थानमा फर्किने मौका गुमाएको हो ।
सेभिल्लासँगको गोलरहित बराबरीपछि एथ्लेटिको मड्रिडको शीर्ष स्थानको बार्सिलोनाको जस्तै ४८ अंक मात्रै छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड गोल अन्तगरका आधारमा दोस्रो स्थानमा छ । बार्सिलोनाको २० खेलबाट ४८ अंक जोड्दै शिर्ष स्थानमा नै छ ।
भिक्टर भिटोलो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सीमित भएको थियो । २१ खेलबाट ३३ अंक जोडेको सेभिल्ला सातौं स्थानमा छ ।
यस्तै राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओले एइबरलाई ५–२ ले पराजित गरेको छ । २१ खेलबाट ३१ अंकसहित एथ्लेटिको बिल्बाओ आठौं तथा ३३ अंकसहित एइबर छैटौं स्थानमा छ ।