काठमाण्डौ,९ माघ ।
बंगबन्धु गोल्डकप फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोलीको स्वागतमा विमानस्थलमा खेलसम्बद्ध अधिकारीहरु र सर्बसाधारणको उल्लेख्य भिड लागेको छ ।
बिजेता नेपाली टोलीलाई अहिले बाजागाजासहित नगर परिक्रमा गराइदै छ । पुरानो बानेश्वर, नयाँबानेश्वर हुँदै दशरथ रंगशालामा लगेर खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम छ । बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप फुटबलको हिजो भएको फाइनल खेलमा बहराइनलाई ३ ० ले हराउँदै नेपाली खेलाडीहरुले उपाधि हात पारेको हो ।
विमल घर्ति मगर, विशाल राई तथा नवयुग श्रेष्ठले एक एक गोलको मद्दतमा नेपाली टोलीले हिजो बहराइनलाई हराएर नेपालको लामो समयदेखिको उपाधि बिहिन यात्रा टुंग्याएको थियो ।
सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुद सागमा भारतलाई टाइब्रेकरमा हराएर उपाधि स्वर्णपदक जितेको नेपालले २३ वर्षपछि फुटबलमा अर्को उपाधि जितेको हो । एन्फाले टिमका खेलाडी तथा प्रशिक्षकलाई जनही पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
एन्फाले २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सक गरी २६ जनालाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषदले पनि खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गर्ने जनाएको छ ।