काठमाडौं,९ माघ ।
बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको नेपाली टोली स्वदेश फकिँदैछ । नेपाली टोली आज दिउँसो साढे एक बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
बंगलादेशको राजधानी ढाकामा शुक्रबार भएको फाइनलमा बहराइनलाई ३–० ले हराएर उपाधि जितेको नेपाली टोलीको स्वागतको तयारी गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिएका छन् ।
नेपाली टोली दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिए लगतै नगर परिक्रमा गराइ दशरथ रंगशाला त्रिपुरेश्वरमा पु¥याएर विशेष स्वागत कार्यक्रम गर्ने उनले जानकारी दिए । विमल घर्ति मगर, विशाल राई तथा नवयुग श्रेष्ठले एक एक गोलको मद्दतमा नेपाली टोलीले हिजो बहराइनलाई हराएर नेपालको लामो समयदेखिको उपाधि बिहिन यात्रा टुंग्याएको थियो ।
सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुद सागमा भारतलाई टाइब्रेकरमा हराएर उपाधि स्वर्णपदक जितेको नेपालले २३ वर्षपछि फुटबलमा अर्को उपाधि जितेको हो । एन्फाले टिमका खेलाडी तथा प्रशिक्षकलाई जनही पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
एन्फाले २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सक गरी २६ जनालाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषदले पनि खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गर्ने जनाएको छ ।