काठमाडौ ५ माघ ।
बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको सेमिफाइनल अन्तरगत नेपालले आज माल्दिभ्सको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार बेलुकी पौने ६ बजे सुरु हुनेछ । नेपाल समूह बीको उपविजेता बन्दै सेमिफाइन पुगेको हो भने माल्दिभ्स समूह एको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
समूह चरणको खेलमा नेपालले १–० ले पराजित गरेको थियो भने मलेसियाको फेल्डा युनाइटेड क्लब र आयोजक बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।
आजको खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्नुपर्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । ढाकामा हिजो भएको प्रिम्याच पत्रकार सम्मेलनमा महर्जनले नेपालको अग्रपंक्तिमा कमजोरी देखिएकाले त्यो आजको खेलमा सुधार हुने विश्वास व्यक्त गरे ।
आजको विजेता टोलीले उपाधिका लागि बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको खेलमा आयोजक बंगलादेशलाई १–० ले हराउदै बहराइन फाइनल प्रवेश गरेको छ ।