काठमाडौँ, १ माघ ।
बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकपमा नेपालले आज बङ्गलादेशको सामना गर्नेे छ । खेल नेपाली समयअनुसार साँझ पौने सात बजे ढाकास्थित बङ्गबन्धु राष्ट्रिय स्टेडियममा हुनेछ ।
नेपाललाई सेमिफाइन प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यसअघि खेलको दुई खेलमा नेपालले एकमा बराबरी तथा एकमा जित हासिल गरेको छ ।
पहिलो खेलमा साबिक विजेता मलेसियाको फेल्डा युनाइटेड क्लबलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पाखा लगाएको थियो ।
उता समान दुई खेल नै खेलको आयोजक बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ४–२ ले पराजित गरेको थियो भने दोस्रोमा मलेसियाको फेल्डा युनाइटेड क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो ।
४ अङ्क जोडेको बंगलादेश प्रतियोगिताको शिर्ष स्थानमा छ भने समान ४ अंक नै जोडेको नेपाल गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ ।
त्यस्तै मलेसियाको फेल्डा युनाइटेड क्लब र श्रीलङ्का क्रमशः लिगको तेस्रो र चौथो स्थानमा छ । मलेसियाको दुई अङ्क छ भने श्रीलङ्का अङ्कविहीन छ ।
आज नै हुने अर्को खेलमा मलेसिया र श्रीलङ्का भिडदै छन् । खेल अपराह्न सवा ३ बजे हुनेछ ।