काठमाडौ २८ पौष ।
स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीले यस वर्ष को फिफा बालोन डी’ओर को उपाधि हात पारेका छन् । मेस्सीले रोनाल्डो र नेइमारलाई पछि पार्दै पाँचौ पटक उपाधि चुम्न सफल भएका हुन् ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएराति स्वीजरल्याण्डको ज्युरिचमा गरेको विशेष कार्यक्रममा फिफा बालोन डी’ओर २०१५ को विजेताको घोषणा गरेको हो ।
प्रशिक्षक, पत्रकार तथा फुटबल अधिकारीको मतका आधारमा मेस्सी वर्ष फुटबलर बनेका हुन् । मेस्सीले ४१ दशमलव ३३ प्रतिशत मत पाएका छन् ।
यस्तै रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डो २७ दशमलव ७६ प्रतिशत मत पाएर दोस्रो स्थानमा छन् भने बार्सिलोनाकै अर्का स्टाइकर नेइमार ७ दशमलव ८६ प्रतिशत मतका साथ तेस्रो स्थानमा छन् ।
पछिल्ला ८ वर्ष यता मेस्सी या रोनाल्डो नै वर्ष खेलाडी घोषित हुँदै आएका छन् । यो अवधिमा मेस्सीले पाँच तथा रोनाल्डोले तीन पटक उपाधि जितेका छन् ।
यस्तै अमेरिकाकी मिडफिल्डर कारली लोइडले वर्ष महिला खेलाडीको उपाधि जितेकी छन् । बार्सिलोनका प्रशिक्षक लुइस इन्रिकले पुरुष फुटबल प्रशिक्षकको उपाधि जितेका छन् ।
अमेरिकाका जिल एलिसले महिला फुटबल प्रशिक्षको उपाधि जितेका छन् भने दक्षिण अफ्रिकाका पूर्व कप्तान लुकास रडेवेले फेयर प्ले अवार्ड पाएका छन् ।