भीमदत्तनगर, २० पुस ।
नौ वर्ष साहुको घरमा कमैया बसेर परिवारको लालनपालनमा कष्टकर दिन गुजारेका हर्क चौधरी यतिखेर एउटा ट्र्याक्टरका मालिक भएका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्त कमैया शिविरमा आश्रय लिइरहेका हर्क चौधरी ट्र्याक्टरका मालिकमात्रै होइनन् उनी झन्डै १५ कट्ठा जमिनमा नगदे बाली गर्ने व्यावसायिक किसानका रुपमा परिचित हुन थालेका छन् ।
“सरकारले हलिया मुक्त भएपछि पाँच कट्ठा मोहना नदीको बगरमा जग्गा दिएको थियो ।” हर्क चौधरीले रासससित भन्नुभयो –“त्यो बगरमा गरिबी निवारण कोषले हामीलाई मेहनत गर्न सिकायो ।” गरिबी निवारण कोषले मुक्त कमैयाको आर्थिकस्तर उकास्न शिविरमा विभिन्न आयमूलक कार्यक्रम बेलाबखतमा सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो ।
“हामी चारजना मुक्त कमैया मिलेर तरकारी बेचेर कमाएको पैसाबाट रु तीन लाखमा पुरानो ट्र्याक्टर खरिद गरेका छौँ ।” उहाँले भन्नुभयो – “अरुको घरमा कमैया बस्दा कहिल्यै ट्र्याक्टरको मालिक भइएला भन्ने सोचेको थिएनँ ।”
“अहिले नगदे बालीका रुपमा आलु, काउलीलगायतका तरकारी लगाएको छु ।” चौधरीले भन्नुभयो – “१० कट्ठा ठेक्कामा लिएर पनि तरकारीखेती गर्दै आएको छु ।” उहाँले मुक्त कमैया शिविरका करिब ५० प्रतिशत स्थानीय गाउँमा विभिन्न समूह बनाएर तरकारी उत्पादन गर्दै आएको बताउनुभयो ।
“गाउँमा उत्पादन भएको तरकारी कैलालीका अत्तरिया र स्थानीय गुलरिया बजारमा खपत हुन्छ ।” चौधरीले भन्नुभयो –“व्यवसायबाट दुई छोराछोरीलाई बोर्डिङ बढाउन सकेको छु ।”
त्यसैगरी मुक्त कमैया शिविरका आशाराम चौधरीले पनि पाँच कट्ठा जमिनबाट ३० क्विन्टल सगरखण्ड उत्पादन गरी बिक्री गरेको सुनाउनुभयो । “यो पाली सखरखण्ड राम्रै उत्पादन भयो ।” आशारामले भन्नुभयो – “करिब रु ७५ हजारमा बिक्री भयो ।” उहाँले आफूले उत्पादन गरेको सखरखण्ड अत्तरिया बजारमा प्रतिकिलो रु २५ का दरले बिक्री गरेको बताउनुभयो ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) गरिबी निवारण कोष कार्यक्रम संयोजक टेक बुढाले पनि कोषको सहयोगमा मुक्त कमैया शिविरका नागरिकहरु स्वावलम्बी बन्दै गएको बताउनुभयो । “पाँचवटा समूहमा मासिक रुपमा बचतसमेत गरेर यहाँका मुक्त कमैयाहरु आयमूलक व्यवसायमा लागेका छन् ।” संयोजक बुढाले भन्नुभयो – “हामीले पनि शिविरमा रु १८ लाख बराबरको लगानी गरिसकेका छौँ ।”
गरिबी निवारण कोषले शिविरमा आयमूलक व्यवसायमा लगाउन मुक्त कमैयालाई बङ्गुर पालन, कुखुरा पालन, तरकारीखेती, माछा पालनलगायतका व्यावसायिक कामका लागि अनुदान दिँदै आएको उहाँले जानकारी दिनुभयो ।