काठमाडौ १० पौष ।
भारतको केरलामा जारी ११ औं साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार साँझ पौने सात केरला स्थित त्रिबेन्द्रम रंगाशालामा हुनेछ ।
आजको खेल नेपालको लागि पनि निकै महत्वपूर्ण रहेको छ । यो समुहमा तीनवटा मात्रै टोली रहेकोले एक एक वटा जीत हात पार्ने टोली सेमिफाईनल पुग्ने सम्भावना रहेको छ । समुहको पहिलो खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको थियो ।
नेपालले आगामी आइतबार भारतसँग खेल्दैछ । पछिल्ला १२ खेलमा एक गोल पनि गर्न नसकेको नेपाली फुटबल टोलीले भारतलाई उसैको मैदानमा हराउन निकै सुधारिएको प्रदर्शन गर्नुपर्ने देखिन्छ ।
साफ च्याम्पियनसिप अन्तर्गत हिजो भएका खेलहरुमा अफ्गानिस्तान र माल्दिभ्स विजयी भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)मा आफ्नो सदस्यता दक्षिण एसियाबाट मध्य एसियामा सारिसकेको अफ्गानिस्तानको लागि यो अन्तिम साफ च्याम्पियनसिप हो ।