काठमाडौ २ पौष ।
भारतमा आगामी पुस ८ बाट सुरु हुने साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली राष्ट्रिय टोली गत मंगलबार नै ढाका पुगिसकेको छ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे ढाकाको बंगाबन्धु रंगशालमा हुनेछ ।
पुस ८ देखि १९ गतेसम्म भारतको केरलामा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारीमा रहेका दुवै टिमले आजको मैत्रिपूर्ण खेल महत्वपूर्ण तयारीका रुपमा लिएका छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक एजुम्सले यो खेल दुवै टिमको तयारीका लागि निकै फलदायी हुने बताएका छन् । नेपाली टोली दुई महिनादेखि प्रतियोगिताका लागि प्रशिक्षणमा जुटेको थियो ।
दक्षिण एसियाका सात देश सहभागी रहेको साफ च्याम्पियनसिपमा समुह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्ने छ । यस्तै पुस १२ मा हुने दोस्रो खेलमा नेपालले भारतसँग खेल्नेछ ।
समुहको शीर्ष दुई मा पर्न सके नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने छ । बंगलादेश रहेको समुह बी मा अफगानिस्तान, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको अन्तिम तयारीका लागि बंगलादेश गएको नेपाली टिम त्यतैबाट भारतको केरला जानेछ ।