मोरंग रमिते १ पौष २०७२ / मोरङ जिल्लाको बिकट पहाडी रमितेखोला गाबिसमा अबस्थित टाँडी माध्यमिक बिद्यालयका बिद्यार्थीहरु शुद्ध पिउने पानीको अभाबमा काकाकुल बन्नुपर्ने अबस्था बाट मुक्त भएपछि हर्षित बनेका छन ।
बिद्यालयमा अध्यायनरत ४ सय बढी बिद्यार्थीहरु मात्र होईन नजिकै रहेको दलित बस्ती र आसपासका १ सय घरधुरीका बासिन्दा समेत गाँऊमा शुद्ध खानेपानीका धाराहरु जडान भएपछि खुसी देखिएको हो ।
बिद्यालय र आसपासका बस्तीमा बर्षौदेखि खानेपानीको समस्या थियो । बिद्यार्थीहरु एकघण्टी पढाई छुटाएर आधा घण्टाको दुरीमा रहेको बैकुण्ठे बजारमा गएर पानी पिउने गर्दथे ।
बिद्यालयमा पनि सोही बजार बाट पानी बोकेर प्यास मेटाउने गरिन्थ्यो । सबै कुराको अभाब भएको सो दुर्गम गाँउमा करिब १ महिना अघि ४ वटा पानीका धाराहरु जडान गरिएपछि स्थानीयहरु निक्कै दंग समेत बनेका छन ।
प्लान ईन्टरनेशनल र फरवार्ड नामक संस्थाको सहयोगमा सञ्चालित बाल केन्द्रित जलवायु परिबर्तन अनुकुलन परियोजना अन्र्तगत ६ लाख ४६ हजार ३ सय ५७ रुपैया र बिद्यालय र स्थानीयको १ लाख ६१ हजार ४ सय ५६ रुपैया गरी जम्मा ८ लाख ७ हजार ८ सय ५३ रुपैयाको लागतमा सो ग्रामिण भेगमा बाताबरणलाई समेत सन्तुलन गर्दै खानेपानी आयोजना निर्माण भएको हो ।
करिब ४ किलोमिटर टाढा बाट पाईप मार्फत शुद्ध खानेपानी ल्याएर सो बिद्यालय र आसपासका बस्तीमा ४ वटा धाराहरु जडान गरिएका छन । जहाँ २४ सै घण्टा पानी उपलब्ध रहने गरेको छ ।
बिद्यालय र आसपासमा पानी नहुँदा निक्कै ठुलो समस्या भएको र बिद्यार्थीले पानी पिउनकै लागी आधा घण्टा टाढाको बजारमा पढाई छोडेर पुग्नुपर्ने र प्यास मेटाउनु पर्ने बाध्यता रहेको तर १ महिना देखि त्यो समस्याको समाधान भएकोमा आफु निक्कै खुसी भएको टाँडी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भवानी राईले बताउनुभयो ।
बिद्यार्थीहरु पानी पिउन गाँउ तिर हिँडेपछि कति पटक त पढाई नै बन्द भएको र घण्टी नै छुटाउनु परेको शिक्षक बिश्व राई सम्झन्छन ।
गाँउमा पानी उपलब्ध भएपछि त यो समस्या पुर्ण रुपमा समाधान भएको छ उनले भने । बिद्याथी र शिक्षकलाई मात्र होईन आसपासका बस्तीमा समेत खानेपानीको अभाब उत्तिकै थियो । दैनिक कामकाज छोडेर पानी लिन गाग्रो बोकेर जानुपर्ने बाध्यता अब भने हटने बिद्यार्थी तथा स्थानीय शसिता राईले बताईन ।
यसरी बिद्यालय र गाँउमा खानेपानीको सुबिधा भएपछि गाँउमा एकखालको खुसीयाली नै छाएको स्थानीयहरु बताउँछन । खानेपानीको अभाबमा काकाकुल बन्न बाध्य त्यस क्षेत्रका बासिन्दाका लागी सो योजना अहिले बरदान नै साबित भएको छ ।