काठमाडौं, २९ मंसिर । विवादकाबीच नेपाल क्रिकेट संघ क्यानको एक पक्षले साधारणसभा गरेको छ । गएराति भएको साधारणसभाले चतुर बहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्ष बाहेक अरु पद सर्वसम्मती चुनिएको थियो । चन्द यस अघि क्यानका उपाध्यक्ष थिए । यस्तै साधारणसभाले वरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, उपाध्यक्षमा शैलेसकुमार चौधरी र दिवाकर घले तथा महासचिवमा अशोकनाथ प्याकुरेललाई चुनेको छ । यस्तै क्यानको सदस्यामा १२ जना चयन भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपको निर्देशन विपरित एकतर्फी साधारणसभा भएको हो । राखेपको निर्देशन विपरित साधारणसभा गरेको भन्दै क्यानका अध्यक्ष टंक आङबुहाङ्गको पक्ष साधारणसभामा सहभागी भएन ।
एक पक्षको साधारणसभाबाट क्यानको नयाँ कार्यसमिति चयन भएपनि त्यसले मान्यता पाउने सम्भावना कम मात्र देखिएको छ । साधारणसभाले वैधानिकता पाउन अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसिसीले मान्यता दिनुपर्छ । तर यो साधारणसभालाई आइसिसीले मान्यता दिएको छैन ।