पाल्पा, २३ मङ्सिर ।
सामुदायिक वनले जैविक विविधताको संरक्षण, गिद्धलाई शुद्ध आहारा र वनको दिगो व्यवस्थापनले गिद्ध संरक्षणका लागि पाल्पाको मदनपोखरा गाविस नमुना बनेको छ ।
सामुदायिक वन तथा समुदाय गिद्ध संरक्षणमा अग्रसर भएपछि एसियामा पाइने नौ प्रकारका गिद्धमध्ये सात प्रजातिका गिद्ध मदनपोखरा गाविस–६ अधँेरी छरछरे सामुदायिक वनमा उडिरहेका हुन्छन् ।
पाल्पाको छरछरे सामुदायिक वनमा सात प्रजातिका गिद्ध बसोबास गर्दैआएका छन् । करिब एकसय वर्ष अघिको सिमलको रुख र त्यसको आसपासमा सात प्रकारका गिद्ध बस्ने, सिनो खान आउने गरेकाले यस क्षेत्रलाई नै रमणीय बनाएका छन् ।
विश्वमा लोपोन्मुख डङ्गर प्रजातिको गिद्धको सिमलको रुखमा गुड नै बनाएको छ । उसले प्रत्येक वर्ष बच्चा जन्माउने कोलल्ने र बच्चालाई उडाउन सिकाउने गरेको छ ।
प्रशस्त मात्रमा गिद्ध देख्न सकिने यस क्षेत्रमा गिद्धको महत्व बुझ्नका लागि अनुसन्धानकर्ताको चहलपहल हुने गर्दछ । क्यामेरामा गिद्धको फोटो कैद गर्न उनीहरु रमाउने गरेको स्थानीयवासीको भनाइ छ ।
अधेरी छरछरे सामुदायिक वन, नेपाल पक्षी संरक्षण सङ्घ, जिल्ला वन कार्यालय र जिल्ला विकास समिति पाल्पाको सहयोगमा डङ्गर प्रजातिको गिद्ध संरक्षणका लागि सिमलको संरक्षण र शुद्ध आहाराको उचित व्यवस्थापन गरिएको छ ।
स्थानीय बासिन्दाले गिद्ध तथा जैविक विविधताको संरक्षण र वनको दिगो व्यवस्थापन गरेकाले स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता अध्ययन तथा अनुसन्धानका लागि यस क्षेत्रमा आउनेको निकै चहलपहल हुने गरेको छ ।
पाल्पा जिल्लाको मदनपोखरा, तानसेनको धरमपानी, छहरा, सोमदी, बौघागुम्बा र रामपुरलगायतका स्थानमा रुख तथा पहरामा हिमाली, सेतो, खैरो र हाडफोर प्रजातिका गिद्धले गँुड बनाएर बस्ने गरेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ ।
तानसेनको बतासेडाँडामा गिद्ध घाम ताप्नका लागि ठूलो सङ्ख्यामा आउने गर्दछन् । यस क्षेत्र गिद्धका लागि उपयुक्त क्षेत्र रहेको जानकारहरु बताउँछन् । विश्वबाट नै गिद्ध लोप हुने अवस्थामा पुगेको जिल्ला वन अधिकृत प्रकाश लम्सालले बताउनुभयो ।
गिद्ध संरक्षणका लागि मदनपोखरामा ‘गिद्ध रेस्टुराँ’ सञ्चालनमा रहेको छ । रेस्टुराँमा मरेका पशु त्यहाँ लगेर राख्ने चलन रहेको छ । जसबाट गिद्ध आहारा सेवन गर्न सक्नेछ ।
रेस्टुराँ सञ्चालनले पनि पाल्पामा गिद्ध संरक्षण भएको जिल्ला पशु सेवा कार्यालयको दाबी छ । मरेको पशुपक्षी वा सिनो गिद्धको प्रमुख आहारा हो । पशपक्षीको उपचारमा प्रयोग गरिने ‘डाइकोफेनेक’ले नै गिद्धको सङ्ख्या बर्सेनि घटेको हो ।
पशुपक्षीलाई दुखाई र सुन्निएको निको पार्नका पशु पक्षी उपचार गरेका डाइकोफेनेक पशु आहाराको रुपमा खाने गर्दा गिद्ध मर्ने गरेका हुन् ।
त्यस्तो प्रकारका सिनो खाएपछि गिद्धको मृगौलामा युरिड, एसिड जमेर गिद्ध मर्ने गरेको जानकारहरू बताउँछन् ।