हिटर बाजे धेरै व्यस्त हुन थाले

हिटर बाजे धेरै व्यस्त हुन थाले

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

भक्तपुर, ३ मङ्सिर । मध्यपुर थिमि नगरपालिका–११ दिगुटोलका आशाबहादर प्रजापतिको सिङ्गो परिवारलाई विगत एक महिनादेखि खाना खाने फुर्सदसम्म छैन ।

मध्यपुरथिमिमै पहिलोपटक २०२५ सालमा माटोबाट बनेको विद्युतीय हिटरको उत्पादन सुरु गर्नुभएका उहाँको छोरादेखि नातिसम्मको पुस्तालाई यतिखेर हिटर बनाउन भ्याइनभ्याइ भएपछि खाने फुर्सदसमेत नभएको हो ।

हिटर बाजेको नामबाट समेत चिनिने आशाबहादुरले माटोबाट बनेको विद्युतीय हिटर बनाउन सुरु गरेपनि ग्यासको प्रचलन बढेपछि १० वर्षयता घटेको हिटरको माग भारतीय नाकाबन्दीका कारण ह्वात्तै बढेपछि अचेल हिटर बनाउन भ्याइनभ्याइ भएको छ । आशाबहादुरका नाति हरिशरण प्रजापति भन्नुहुन्छ, “भारतीय नाकाबन्दीपछि हिटरको माग थेग्नै नसक्नेगरी आएको छ, बनाउनै भ्याइन्न, मागअनुसार ३० प्रतिशत पनि दिन मुस्किल छ ।” उहाँसँग मात्रै दिनमा ६ हजार हिटरको माग छ तर ३०० भन्दा बढी हिटर दिन नसकिएको उहाँको भनाइ छ ।

भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि खाना पकाउने ग्यासको विकल्पका रुपमा माटोबाट बनेको विद्युतीय हिटरको प्रयोग बढेपछि माग पनि ह्वात्तै बढेको हो । प्रजापति भन्नुहुन्छ, “ग्यास हुँदा हिटरको आवश्यकता नै परेन, अहिले ग्यासको अभाव चुलियो, घरवेटीले घरभित्र दाउरा बाल्न नदिने भएपछि काठमाडाँै, ललितपुरदेखिका मानिस खाना पकाउनकै लागि हिटर लिन आउँछन्, त्यसैले माग बढ्यो ।”

आफ्नो घरको परिवारले मात्रै धान्न नसकेपछि सातजना मजदुर राखेपनि मागअनुसारको हिटर दिन नसकिएको उहाँको भनाइ छ । माटोको हिटरमा प्रयोग हुने क्वाइल र पातासमेत बजारमा अभाव भएकाले अब केही दिनपछि हिटर उत्पादन गर्न समस्या आउने भएको छ । माटोको समेत अभाव भएपछि विगतमा १२५ देखि १५० रुपैयाँसम्ममा बिक्री हँुदै आएको १५०० वाटसम्मको हिटर अहिले ६०० रुपैयाँमा बिक्री भएको छ । प्रजापति भन्नहुन्छ, “बजारमा क्वाइल, पाता तेब्बर महँगो भएको छ, महँगोमा पनि सहज पाइँदैन, माटोको समेत अभाव रहेको छ, यो अवस्थामा महँगोमा सामान ल्याउनु परेकाले हिटर पनि महँगो भएको हो ।”

उपभोक्ताको मागअनुसार हिटर बनाउनै नसकेको बताउनुहुन्छ मध्यपुरथिमि–११ दिगु टोलकै रामकृष्ण प्रजापति । एक साताअघिदेखि नाम लेखाएर जानेलाई पनि हिटर दिन नसकेको उहाँ बताउनुहुन्छ । व्यापारीबाट हिटर नपाएपछि भक्तपुर, काठमाडाँै र ललितपुरमा बस्नेहरु हिटर बनाउने ठाउँ खोज्दै थिमि आउने गर्छन् । थिमिमा मात्रै यसप्रकारको हिटर निर्माण हुने भएकाले पनि यहाँ हिटर खोज्ने उपभोक्ता र व्यापारीको चाप बढेको हो । हिटर लिन थिमि आउनुभएकी बालाजु बाइपास बस्ने देवकी श्रेष्ठले नाम लेखाएको एक सातापछि बल्ल आज हिटर पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ग्यास सिद्धिएको एक साता भयो, दाउरा बाल्न घरभेटीले दिन्नन्, त्यसैले थिमिमा हिटर पाइन्छ भनेर खोज्दै आएको हुँ, बल्ल एक सातामा एउटा हिटर पाएँ ।”

व्यक्तिगत रुपमा आउने उपभोक्तालाई नै हिटर दिन नसक्ने अवस्था भएकाले व्यापारीको मागलाई पूरा गर्न नसकेको हिटर उत्पादकहरु बताउँछन् । एकपटकमा एक हजार वटासम्म हिटर निर्माण गर्न सकिने भएपनि माटो मुछेर तयार पार्न, आकार दिन, पोल्नेजस्ता कामका लागि दुई साताभन्दा बढी लाग्ने भएपछि हिटरको माग पूरा गर्न नसकेको थिमिका हिटर व्यवसायी श्यामलाल प्रजापति बताउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी