मुस्ताङ, २९ कात्तिक ।
अत्यधिक चिसो बढेपछि उपल्लो मुस्ताङमा सञ्चालित विद्यालय बन्द भएका छन् ।
पाँच गाविसमा सञ्चालित १९ विद्यालयका करिब दुई सय विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न कास्कीको पोखरालगायत क्षेत्रमा झरेका छन् । कात्तिक दोस्रो सातादेखि फागुन महिनासम्म हिमपातसँंगै अत्यधिक चिसो हुने भएकाले हरेक वर्ष उक्त अवधिमा विद्यार्थी बेँसी झर्ने गर्छन् ।
छोन्हुपमा सञ्चालित छ, छोसेरका दुई, छुसाङ र चर्राङ र लोमान्थाङका एक÷एक विद्यालयले पोखरामा घुम्ती कक्षा सञ्चालन गरेकाले उपल्लो क्षेत्रमा पठनपाठन बन्द भएको जिल्ला शिक्षा कार्यालय मुस्ताङका विद्यालय निरीक्षक मोतीलाल चापाईँँले जानकारी दिनुभयो ।
लोमान्थाङका दुई संस्थाले पनि पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उपल्लो मुस्ताङका विभिन्न गाविसमा सञ्चालित छ गुम्बा विद्यालय पनि बेँसी झरेका छन् ।
घुम्ती विद्यालय सञ्चालनका लागि सरकारले प्रतिविद्यार्थीका आधारमा निश्चित बजेट उपलब्ध गराउँदै आएको छ । साथै जिविस र गाविसबाट समेत विद्यालयलाई आर्थिक सहयोग हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।