“पीडा लुकाएर एक दिनको खुसी बाँडियो”

“पीडा लुकाएर एक दिनको खुसी बाँडियो”

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, २७ कात्तिक । “दुःख, पीडालाई लुकाएर भए पनि एक दिनको खुसी बाँडियो” गहभरि आँसु पार्दै सिन्धुपाल्चोककी २२ वर्षीया सरिता लामाले भनिन् ।

चारखाल डिल्लीबजारस्थित कारागारमा शुक्रबार तिहारको भाइटीका लगाउँदै गरेकी उनका आँखाबाट निरन्तर आँसु झरिरहेका थिए । कर्तव्यज्यान मुद्दामा आठ वर्षदेखि जेल सजाय भोगिरहेका आफ्ना दाजु डेवालाई भाइटीका लगाइदिन सरिता त्यहाँ पुगेकी थिइन् । बहिनीका हातबाट टीक लगाउन पाउँदा डेवाले पनि उत्साहित मुद्रामा भने– “एक दिनको एक क्षणमा पनि पारिवारिक जमघट जस्तै अनुभूति भयो ।”

लागुऔषध कारोबारमा सात वर्षदेखि जेल सजाय भोगिरहेका काठमाडौँका ३५ वर्षीय खुम घलेलाई बहिनीको हातबाट टीका लगाएर सप्तरङ्गी फूलको माला र नयाँ पहिरनमा सजिँदा पनि कुनै उल्लास छैन । “बहिनीबाट टीका लगाएँ, बाहिरबाट हेर्दा राम्रो देखिन्छ, तर भित्री पीडाले सताइरहन्छ, यो कष्टबाट चाँडै निस्केर निजी व्यवसाय गर्छु,”,उनले भने ।

आफ्ना दाजुलाई टीका लगाइदिन कारागार पुगेकी सुजाता घलेले हरेक वर्ष यहाँ आएर टीका लगाउँदा क्षणिक खुसी भए पनि परिवारमा जस्तो रमाइलो नभएको सुनाइन् । उनले अर्को वर्ष घरैमा भाइटीका लगाउने अभिलाषा लिएकी छिन् ।

सिन्धुलीकी सेती तामाङ पनि अर्को वर्ष घरपरिवारमै टीका लगाउने आशामा छिन् । चोरी मुद्दामा दुई वर्षदेखि जेल सजाय भोगिरहेका ३८ वर्षीय दाजुलाई टीका लगाउन कारागार आएकी उनलाई परिवार बिछोडको पीडाले सताइरहन्छ ।

धादिङकी सविना पनि लागुऔषध मुद्दामा १० महिनादेखि जेल जीवन बिताइरहेका आफ्ना दाजु राजु स्याङ्तानलाई टीका लगाउन पाउँदा मक्ख देखिएकी थिइन् । “म धेरै खुसी छु, अर्को वर्ष घरमै खुसीका साथ टीका लगाउन पाइयोस् भनी आशीर्वाद दिएको छु,”–उनले भनिन् ।

यी प्रतिनिधि पात्रजस्तै ठूलो सङ्ख्यामा उपस्थित दिदीबहिनीले आज विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका आफ्ना दाजुभाइसँग कारागारमा गएर केही समयको खुसी आदानप्रदान गरेका छन् ।

डिल्लीबजार कारागारको वातावरण निकै आकर्षक र मार्मिक दुवै थियो । कोही कतै खुसी साटिरहेका थिए भने कतै दुःख पोखिरहेका देखिन्थे । धेरै चाहिँ एक दिन भए पनि परिवारसँगको भेट र मीठा परिकारमा रमाइरहेका थिए । टीका लगाउने मात्र नभई भेटघाटका लागि पनि त्यहाँ थुप्रै आफन्त पुगेका थिए । केन्द्रीय कारागार सुनधारापछि दोस्रो ठूलो कारागार चारखाल कारागार हो । यहाँ करिब ७०० कैदी छन् ।

कारागार सुरक्षामा खटिएका प्रहरी निरीक्षक रवीन श्रेष्ठले आज भाइटीका लगाउन मात्र करिब पाँच सय दिदीबहिनी आएको र उनीहरुलाई सहज रुपमा पारिवारिक जमघटको वातावरण मिलाइएको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष कम दिदीबहिनी भाइटीका लगाउन आए ।

कारागारका अनुसार आज बिहान ९ः४५ बजेदेखि साँझ ३ः०० बजेसम्म भाइटीका लागि भेटघाटको समय दिइएको थियो । काठमाडौँ उपत्यकाका मात्र हैन देशभरका विभिन्न कारागारमा जेल सजाय भोगिरहेका कैदीले भाइटीका लगाएर खुसी आदानप्रदान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी