काठमाण्डौ,१६ कात्तिक ।
खाना पकाउने ग्यासको देशभरि नै हाहाकार भइरहेका बेला मध्यधादिङ साङ्कोषका स्थानीयवासीलाई भने बजारमा ग्यासको अभाव भएको अनुभूति नै भएको छैन ।
केही समयअघि साङ्कोष गाउँका अधिकांश घरमा गोबर ग्यासको प्लान्ट बनाएका कारण उनीहरु अहिले पनि ढुक्क छन् । भारतले गरेको नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेपछि साङ्कोषको यो बस्तीको सबैजसो घरमा भएका गोबर ग्यास सञ्चालन गर्न थालिएको छ ।
उनीहरुले बन्द गरेको गोबर ग्यास प्लान्टलाई पनि पुनः सञ्चालनमा ल्याएको स्थानीयवासी हरि घिमिरेले बताउनुभयो । यो क्षेत्रमा करिब १५० को सङ्ख्यामा गोबर ग्यास सञ्चालनमा रहेको छ ।
नाकाबन्दीले गर्दा बजारमा भएको ग्यास अभावको प्रभाव शून्य रहेको र गाउँवासीलाई ग्यास अभावले कुनै समस्या नपरेको शिव सापकोटाको भनाइ छ ।
पहिले गाईबस्तुलाई कुँडो पकाउन मात्र प्रयोग गर्ने गोबर ग्यास अहिले घरमा सम्पूर्ण खाना पकाउने काममा प्रयोग हुन थालेको छ । विशेष गरी सदरमुकाम डेरा गरी बस्ने र होटल व्यवसाय गरी बस्नेहरु खाना पकाउने ग्यासको अभावका कारण मर्कामा परेका छन् ।
अहिले धादिङको सदरमुकाम आसपासका ग्रामीण क्षेत्रमा भने गोबर ग्यासको प्रयोग बढेसँगै सदरमुकामका घरहरुमा भने दाउराको प्रयोग बढेको छ । धादिङ सदरमुकामका अधिकांश नागरिकले इन्धन बचाउनका लागि पनि दाउरा र बायो ग्यासको प्रयोग गरेका छन् ।
गोबर ग्यास र दाउरामा खानेकुरा पकाउँदा केही समय भने बढी नै लाग्ने भए पनि खाना भने स्वादिलो हुने गाउँवासीले बताएका छन ।