काठमाण्डौ,२३ कात्तिक ।
जाजरकोटका भेडाबाख्रामा पातलो सिँगान, निरन्तर पखाला र ज्वरो आउने पिपिआर रोगबाट तीन हजार बढी भेडाबाख्रा मरे पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।
गाउँभरि महामारी फैलिए पनि सरोकारवाला निकायले कुनै वास्ता नगर्दा स्थानीय कृषक मर्कामा परेका छन् । जिल्लाका पश्चिमी तथा उत्तरी क्षेत्रका दर्जन बढी गाविसमा पिपिआर रोगको महामारी फैलिएको छ ।
पैक, टालेगाउँ, अर्छानी, पजारु, मजकोट, दह, कोर्ताङ, गर्खाकोट, नायकवाडा, रोकायगाउँ, रामीडाँडालगायतका गाविसमा फैलिएको पिपिआर रोगले हजारौँ भेडाबाख्रा थला पर्दै मर्दै गर्न थालेका छन् । दैनिक रुपमा प्रकोपले भेडाबाख्रा मर्ने क्रम बढेपछि महामारी नियन्त्रण बाहिर गएको हो ।
भदौको अन्तिम साता पैकबाट सुरु भएको महामारी अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । रोगलाई समयमै नियन्त्रणमा लिन नसक्दा रोग महामारीका रुपमा परिणत भएको स्थानीयवासीको गुनासो छ ।
जिल्ला पशुसेवा कार्यालय जाजरकोटले पैक गाविसमा ५००, अर्छानीमा ६००, टालेगाउँमा ८००, दहमा ३००, कोर्ताङमा ५०० भन्दा धेरै गरी जिल्लाभरिमा तीन हजारभन्दा बढी भेडाबाख्रा मरेको जनाएको छ । रोग लागेका बाख्रा तथा भेडामा पातलो सिँगान, पातलो दिसा र ज्वरो आएको २÷३ दिनमै मर्ने गरेको कोर्ताङ– २ का अमरबहादुर शाहीले बताउनुभयो ।
रोग नियन्त्रणका लागि आवश्यक पहल गरिदिन जिल्ला पशुसेवा कार्यालय आइपुगेका शाहीले जुम्ला र जाजरकोटको सिमानामा पर्ने पाटनमा चराउन लगेका बेला रोग सुरु भएको बताउनुभयो । उहाँले ठूलो नोक्सान हुने गरी भेडाबाख्रामा महामारी फैलिँदा पनि सरकारी निकायले कुनै पहल नगरेको बताउनुभयो ।
करिब एक महिनाअघि क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सक नारायणप्रसाद न्यौपानेको नेतृत्वमा आएको एक टोलीले रोगको अनुसन्धानका लागि बिरामी पशुको रगत घाउको पिप तथा अन्य वस्तु नमुनाका रुपमा सङ्कलन गरेर लगेको थियो । नमुना परीक्षण गर्दा पिपिआर रोग भएको पुष्टि भए पनि रोग नियन्त्रणका लागि कार्यालयले खासै पहल नगरेको गुनासो गरेका छन् ।
तर जिल्ला पशुसेवा कार्यालय जाजरकोटका डिस्पेनसरी शाखाका प्रमुख तथा पशु स्वास्थ्य प्राविधिक रत्नबहादुर डाँगीले हालै पिपिआर विरुद्धको खोपका लागि १५ हजार डोज खोप आइपुगेको र बुधबार पाँच हजार डोजसहित अर्छानी, टालेगाउँ र पजारुका लागि पठाइएको बताउनुभयो । कर्मचारी अभावमा अन्य खोप प्रभावित गाउँमा पठाउन समस्या परेका उहाँले उल्लेख गर्नु भयो ।
अहिले पठाइएको पिपिआर रोगविरुद्धको खोप महामारी नफैलिएका गाउँमा पहिले लगाएर विस्तारै प्रभावित क्षेत्रमा लगाउने योजना कार्यालयको रहेको छ ।