काठमाडौं, ९ कार्तिक ।
दक्षिण अफ्रिकासँगको पाँचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारत दुई सय १४ रनले पराजित भएको छ । जितसँगै पाँच एक दिवसीय श्रृँखला दक्षिण अफ्रिाकाले ३–२ ले आफ्नो पक्षमा पारेको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४ सय ३९ रनको लक्ष्य पछ्याएको भारत ३६ ओभरमा अलआउट हुँदै मात्रै दुई सय २४ रनमा समेटिएपछि दक्षिण अफ्रिका विजयी भएको हो ।
दक्षिण अफ्रिकालाई जित दिलाउने क्रममा कागिसो रबाडाले चार, डेल स्टेनले तीन, इमरान ताहिरले दुई तथा कायल एबोटले एक विकेट लिए ।
भारतका अजिन्क्या राहानेले ८७, शिखर धवनले ६०, कप्तान महेन्द्र सिंह धोनीले २७ तथा रोहित शर्माले १६ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन । विराट कोहली सात रन मात्रै बनाएर आउट भए ।
हरभजन सिंह र मोहित शर्माले रनको खाता नै खोल्न सकेनन् भने सुरेश रैनाले १२, अक्षर पटेलले पाँच, अमित मिश्राले चार तथा भुवनेश्वर कुमार एक रन बनाएर आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धा्रित ५० ओभरमा ४ विकेटको क्षतिमा ४ सय ३८ रन बनायो । यो भारतविरुद्ध कुनै पनि टिमले बनाएको उच्च रन हो ।
