लहान, २३ असोज ।
लामो समयदेखि वर्षा नहुँदा हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान खडेरीका कारण सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।
समयमा पानी नपर्नु तथा सिँचाइको उचित व्यवस्था नहुँदा जिल्लाको पूर्वीदक्षिण भेगका नहरा रिगौल, कल्याणपुर, महेशवारी, बेतहालगायत गाविसमा धान खेतमै सुक्न थालेपछि त्यस भेगका किसान चिन्तित बनेका हुन ।
धान सुकेपछि किसानले अहिले धान काटेर पराल चौपायालाई खुवाउन थालेका छन् । उनीहरुले खडेरीबाट पीडित कृषकलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । खोला र नहरको पहुँच रहेको स्थानबाहेक अन्य आकासे पानी, बोरिङ, पम्पसेटबाट सिञ्चित क्षेत्रमा भने धान सुकेको छ ।
वर्षा पनि लामो समयदेखि नभएको र सिँचाइको पनि उचित व्यवस्था नहुँदा त्यस भेगका किसान मोटरबाट पानी तानेर धानमा लगाउन बाध्य भएको किसानहरु बताउँछन। गतवर्ष वर्षाको आभावमा धान उत्पादन कम भएपछि त्यस भेगका किसानले सीमावर्ती भारतबाट चामल, गहुँलगायत खाद्यान्न चर्काे मूल्य तिरेर उपभोग गर्न बाध्य रहेको भन्दै यसवर्ष सिरहामा ठूलो खाद्यान्न सङ्कट हुने सम्भावना रहेको बताउँछन ।
कुल ६० हजार ५०० हेक्टर खेतीयोग्य जमिनमध्ये सिरहामा यसवर्ष करिब ७५ प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय सिरहाका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो ।