पेट्रोलियम पदार्थको अभावले जनजीवन प्रभावित

पेट्रोलियम पदार्थको अभावले जनजीवन प्रभावित

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १२ असोज । नेपालीहरूको महान चाड दसैँ नजिकिँदै गर्दा बजारमा देखिएको पेट्रोलियम पदार्थको अभावका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
साथै भारतले विभिन्न दवावका आधारमा नेपालमाथि लगाएको नाकाबन्दीको सर्वसाधारणले चौतर्फी विरोध गर्न थालेका छन् ।
पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू केही दिनयता भारतीय सीमामा रोकिएपछि नेपालमा पेट्रोलियम पदार्थको अभावसँगै यही असोज १० गतेदेखि जोर बिजोर प्रणालीमा सवारी साधन चलाउन थालेसँगै सर्वसाधारण कोचाकोच गरेर हिँड्न बाध्य भएका छन् ।
कम सङ्ख्यामा सवारी साधन चलेसँगै उपत्यकाका विभिन्न चोकमा गाडी कुर्ने यात्रुको निकै भीडभाड देखिएको छ ।
गाडीमा तेल भर्न तीन दिनअघिदेखि लाइनमा बसेका यातायात व्यवसायीले आजसम्म पनि तेल भर्न नपाएको गुनासो पनि उत्तिकै देखिन्छ ।
काभ्रे घर भई विगत १० वर्षयता काठमाडौँमा ट्याक्सी चलाउँदै आएका (बा १ ज ६८८४ का चालक) रामहरि घिमिरेले असोज ९ गते बेलुकादेखि तेलका लागि भद्रकालीमा ट्याक्सी लाइनमा राखेपनि अहिलेसम्म पनि तेल राख्न नपाएको दुखेसो गर्नुभयो ।
“ट्याक्सी चलाएरै जीविकोपार्जन गर्नु मेरो बाध्यता हो” – उहाँले भन्नुभयो – “तीन दिनसम्म पनि तेलका लागि लाइन बसेको छु, अझै पालो कतिखेर आउने हो, गाडी धेरै नै पछाडी छ ।”

आफूले थाहा पाएसम्म पेट्रोलियम पदार्थको यतिधेरै अभाव अहिले नै महसुुस गरेको बताउँदै उहाँले यो समस्यालाई समाधान गर्न सरकारले यथाशीघ्र पहल गर्नुपर्ने बताउनुभयो ।

तेलका लागि धेरै गाडी लाइनमा राखे पनि चिनेजानेका आधारमा पम्पमा घुसपैठ भएका कारण पनि समस्या आएको उहाँले गुनासो गर्नुभयो ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बराल भने घुसपैठका आधारमा तेल दिइएको कुरा सत्य नभएको बताउनुहुन्छ ।

स्टक मौज्दात आवश्यकताभन्दा कम भएका कारण लाइनमा बसेरै पनि चाँडो तेल पाइहाल्ने अवस्था नभएको बताउँदै उहाँले भएको तेल वितरण सहज बनाउनका लागि नेपाल आयल निगम र वाणिज्य विभागले सबै पेट्रोल पम्पमा अनुगमन गरिरहेको बताउनुभयो ।

निगमले उपत्यकामा ६० वटा पम्पबाट डिजेल र ११ वटा पम्पबाट पेट्रोल वितरण गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रवक्ता बरालका अनुसार पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारीस्तरबाट पहल भइरहेको छ ।

जोर बिजोर प्रणाली र तेलको अभावका कारण बजारमा निकै कम सवारी साधन चलेका कारण सर्वसाधारणलाई आवत जावत गर्न सास्ती बेहोर्नुपरेको छ ।

दसैँ नजिकिँदै गर्दा दसैँ मनाउन स्वदेश आएका युवा देशमा यस्तो अवस्था देखेर निकै चिन्तित बनेका छन् ।

यसअघि रोजगारीका सिलसिलामा दुबइमा बसी दसैँका लागि आएका हुँगा–३ गुल्मीका युवा जगन्नाथ भण्डारीले यातायातको यो असुविधाले चाडबाड मनाउन आएका हजारौँ युवा प्रभावित भएको बताउनुभयो ।

एक महिनाको छोटो समयका लागि बिदामा आफू स्वदेश आएको बताउँदै उहाँले सवारी साधन कम चलेका कारण आफन्त भेटघाट गर्न जान पनि निकै समस्या बेहोर्नुपरेको उल्लेख गर्नुभयो ।

“आफन्त भेटघाटका लागि आवतजावत गर्न पनि धेरै समस्या छ, फर्कने समयमा अझै कस्तो हुने हो” – उहाँले भन्नुभयो – “जलस्रोतले सम्पन्न हाम्रो देशमा बिजुली निकालेर पेट्रोलियम पदार्थको वैकल्पिक व्यवस्था गर्न सकिने कुरालाई दृष्टिगत गरी देशलाई आत्मनिर्भरतातर्फ अघि बढाउनुको विकल्प छैन ।”

जोर बिजोर प्रणालीका कारणले मात्र नभई तेलकै अभावले बजारमा सवारी साधनको सङ्ख्या कम भएको अर्का चालक रेशम ठकुरीले बताउनुभयो ।

सिन्धुपाल्चोक घर भई बा १ ज ४६९० नंको ट्याक्सी चलाउँदै आएका ठकुरीले लाइनमा बसेर पनि आफूले तीन दिनसम्म पनि तेल नपाएको गुनासो गर्नुभयो ।

दसैँको अगाडि धेरै यात्रुले समस्या भोग्नुपरेको बताउँदै उहाँले भन्नुभयो – “यो समस्यालाई सरकारले तत्काल समाधानका लागि पहल गर्नुपर्छ, समस्याको दीर्घकालीन समाधानको बाटो खोजिनुपर्छ ।”

उहाँजस्तै विगत ३० वर्ष यता ट्याक्सी चलाउँदै आएका बा १ ज ७९५६ नंका चालक बलबहादुर सारुमगर समस्याको तत्काल समाधानको पहल गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

यसअघि विसं २०६३ मा तेलको चरम अभाव भए पनि त्यस समयभन्दा अहिले अझै अभाव बढेको उहाँको अनुभव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी