पाल्पा , ११ असोज ।
नेपाल सरकारले कानुन विपरीत तथा गैरकानुनी ठहर गरेको घरेलु मदिरा उत्पादन र बिक्री वितरण कार्य अहिलेसम्म रोकिएको छैन ।
राष्ट्रिय सञ्चारमाध्यमले पटक पटक यस विषयमा आवाज उठाए पनि सरोकारवाला निकायको बेवास्ताका कारण नियन्त्रण हुन नसकेको हो ।
यसरी उत्पादित घरेलु मदिरा ठूलो परिणाममा सदरमुकाम तानसेन र दोस्रो सहर रामपुरमा दिनहुँ तीन हजार लिटरभन्दा बढी बजारमा भित्रँदा पनि प्रहरी नै बेखबर बन्दा थप शङ्कास्पद बनेको छ ।
कृषि तथा पशुपालन र अन्य वैकल्पिक पेसा तथा व्यवसाय नअङ्गालेर महिलाहरु यस व्यवसायलाई परम्परागत रुपमा अङ्गाल्दै आएका छन् । यस पेसा तथा व्यवसायमा जिल्लाको रामपुर नगरपालिका खानीछाप, तेल्घा, कोलडाँडा, दोभान, पिपलडाँडाजस्ता २० भन्दा बढी गाविसका दुई हजारभन्दा बढी महिलाको आम्दानीको मुख्य स्रोत नै घरेलु मदिरा उत्पादन बनेको छ ।
“एक हप्तामा २० लिटर उत्पादन गर्ने र उत्पादित मदिरा तानसेनको बजारमा पु¥याई त्यसैबाट आफ्नो घर खर्च चलेको छ” – खानीछाप गाविसकी पार्वती चिदीले भन्नुभयो । खानीछापको महछापमा उहाँमात्र होइन, उहाँ जस्तै २० जना महिलाको दैनिकी मदिरा उत्पादन गरी बिक्री गर्ने रहेको उहाँले बताउनुभयो ।
कोलडाँडाका महिला पनि मदिरा उत्पादन गरी बिक्री गर्ने र त्यसैबाट आफ्ना घरखर्च चलाउने गर्दछन् । एक स्थानीय व्यापारीका अनुसार यहाँबाट दैनिक रुपमा ठूलो परिमाणमा मदिरा उत्पादन गरी सीमावर्ती बजार सुनौलीमा सिद्धार्थ यातायातद्वारा सञ्चालित बसबाट पु¥याइने गरिन्छ ।
स्थानीय विमला चिदीका अनुसार कोलडाँडामा ५० भन्दा बढी घरपरिवारको मुख्य स्रोत नै मदिरा उत्पादन रहेको बताउनुहुन्छ । एक हप्तामा ५० लिटर उत्पादन गरी प्रतिबोतल रु ४० मा बिक्री गरी त्यसैबाट आफूले प्रशस्त सुन जोडेको चिदीले आफ्नो अनुभव बताउनुभयो ।
प्रहरीले आफ्नो व्यवसायलाई कहिल्यै अवरुद्ध नगरे पनि यदाकदा व्यापारीलाई समस्या पारिदिने गरेको वसन्ती चिदीले बताउनुभयो । दोभान गाविसबाट समेत ठूलो परिणाममा बुटवलका विभिन्न होटल तथा रेस्टुराँमा घरेलु मदिरा पु¥याई बिक्री गर्दै आएको स्थानीयवासी बताउँछन् ।
जिल्लाका राजमार्गका राम्दी, आर्यभञ्ज्याङ, बर्तुङ, प्रभास, दोभान प्रहरी चौकीसहित इलाका प्रहरी कार्यालय रामपुरले चेक जाँचलाई कडाइ नगरेका कारण अवैध रुपमा मदिरा उत्पादनसहित बिक्री वितरण नरोकिएको स्थानीयवासीको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालयमा प्रमुख सरुवा भएर नयाँ आएकाबखत मातहतका चौकी तथा इलाका प्रहरी कार्यालयले यस्ता गतिविधिलाई निरुत्साहित गर्न दुई चार दिन बीस÷पचास लिटर बरामद गरेजस्तो गर्छन्, दुई चार दिनपछि पुनः पुरानै क्रम दोहोरिन्छ, दोभान गाविसकी एक महिलाले बताइन् ।
राजमार्गमा बिहानको समयमा ट्रकमा राखेर लैजाने र रामपुर क्षेत्रमा तानसेनबाट रामपुरका लागि छुटेको बसमा दैनिक सयौँ लिटरभन्दा बढी मदिरा भित्र्याउने गरेको सम्बद्ध महिला बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयले यस्ता विषयमा ध्यान दिने हो भने मदिराका कारण उत्पन्न हुने आपराधिक क्रियाकलाप कम हुने नागरिक समाजका अगुवाहरु बताउँछन् ।